साम्राज्ञीलाई किन हतार ?



नेपाली चलचित्रकी सर्वाधिक डिमान्डेड र महंगी अभिनेत्रीको रुपमा कहलिएकी साम्राज्ञी आरएल शाह गत वर्ष प्रदर्शनमा आएका दुई चलचित्र ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी छन् । यी दुई चलचित्रको असफलतापछि उनीमाथि लगानी गर्न कोही निर्माता तयार नभएको चर्चा पनि चल्यो । तर, उनलाई चलचित्रको प्रस्ताव आउन रोकिएको छैन ।

‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्देशक हेमराज विसीको चलचित्र साइन गरेकी थिइन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । निर्देशक विसी कोरोना महामारी पूर्ण रुपमा अन्त्य भएपछि चलचित्रको छायांकन थाल्ने सोचमा छन् । लकडाउन खुकुलो भएपछि साम्राज्ञीले निर्देशक प्रवेश पौडेलको नयाँ चलचित्र साइन गरिन् ।

यही मंगलवार उनी अर्को एक चलचित्रमा अनुबन्ध भएकी छन् । रमेश एम.के पौडेलले निर्देशन गर्ने चलचित्र ‘रेड वाइन’ मा उनले अभिनेता पल शाहसँग रोमान्स गर्दैछिन् । यो चलचित्रमा उनले १२ लाखभन्दा बढी पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । यस्तै, साम्राज्ञीले ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ चलचित्र ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ ।

‘रातो टीका निधारमा’ पछि झण्डै ६ महिना उनी कुनै चलचित्रमा आबद्ध भइनन् । तर, अहिले लगातार चलचित्र साइन गर्नुलाई धेरैले विभिन्न कोणबाट अर्थ्याएका छन् । पछिल्ला चलचित्रको असफलता र एकपछि अर्को विवादका कारण उनको करिअर सकिएको कतिपयको टिप्पणी थियो । यसको जवाफकै खातिर उनले लगातार चलचित्र साइन गरेको हुनसक्ने एकथरीले आँकलन गरेका छन् ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताएका कलाकार चलचित्र क्षेत्रमा धेरै छन् । साम्राज्ञीले पनि केही चलचित्रबाट यो भोगिसकेकी छन् । उनले लकडाउनको समयमा सामाजिक सञ्जालमा आफ्ना प्रशंसकको जवाफ दिने क्रममा अब वर्षमा १ वा २ वटा चलचित्रमा मात्र काम गर्ने बताएकी थिइन् । तर, अहिले लगातार चलचित्र साइन गर्नुले उनी आफ्नो अडानमा बस्न नसकेको देखिन्छ ।

‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि उनलाई आफ्नो काँधमा बोकेर चलचित्र सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिएको थियो । तर, यसपछि उनले जति पनि चलचित्रमा काम गरिन्, कुनैले सफलताको उचाईमा पुर्‍याउन सकेनन् । त्यसमाथि श्रृंखलाबद्ध विवादले उनको करिअरमा ठूलो असर गर्‍यो । तर पनि उनीप्रति निर्माता तथा निर्देशकको विश्वासमा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu