नेपाल र भारत दुवैको माया लाग्छ : निरुता सिंह



शनिवारबाट अभिनेत्री निरुता सिंह उमेरले ४८ वर्षकी भएकी छन् । सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले एक समय नेपाली चलचित्रमा एकलौटी राज गरेकी थिइन् । तुलसी घिमिरे निर्देशित चलचित्र ‘दक्षिणा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । पहिलो चलचित्र नै सफल भएपछि उनी सर्वाधिक डिमान्डेड अभिनेत्री बनेकी थिइन् ।

आफ्नो अभिनय करिअरमा सर्वाधिक सफल चलचित्र दिने अभिनेत्री हुन्, निरुता । तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छाँया’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनको ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘आमाको काख’, ‘आफन्त’, ‘माइली’, ‘सन्तान थरी थरीका’, ‘ठुल्दाई’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’ लगायत दर्जनौं चलचित्र सुपरहिटको सूचीमा छन् ।

करीब एक दशक अभिनयबाट दूरी बनाएकी उनले दुई वर्ष अगाडि विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरेकी हुन् । यो चलचित्रमा उनको केमियो भूमिका थियो । तर, छोटो भूमिका भए पनि उनको अभिनयले दर्शकको मन जितेको थियो । यसपछि उनको नेपाली चलचित्रका लागि बाटो खुल्यो र पुनः चलचित्रमा उनको माग बढेको छ ।

भारतीय नागरिक भएका कारण निरुता भारतको स्वतन्त्रता दिवसलगायत अन्य महत्त्वपूर्ण दिनहरुमा सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु गर्ने गर्दछिन् । तर, नेपाली दर्शकहरुले उनलाई नेपाली भएर भारतको गुनगान गाएको भन्दै अशिष्ट गालीगलौज गर्ने गरेका छन् । कतिपयले उनलाई ‘धोतिनी’ समेत भन्ने गर्दछन् । यी कुराले आफ्नो निकै चित्त दुख्ने गरेको उनको गुनासो छ ।

निरुता भन्छिन्, ‘भारत मेरो जन्मभूमि हो भने नेपाल कर्मभूमि । मलाई दुवै देशको उत्तिक्कै माया लाग्छ । म भारतमै जन्मे-हुर्के । स्कूलमा भारतको राष्ट्रिय गान गाउनु पर्थ्यो । म त्यो माहोलबाट आएको हुँ । मेरो पिता पूर्खा भने नेपालमा जन्मिएका हुन् । सानैदेखि मनिषा कोइराला नेपाली हुन् भनेर हामीले सबैलाई भन्ने गर्थ्यो । किनकि, म नेपालकी छोरी हुँ, नेपालको माया लाग्छ ।’

नेपालमा जन्मिएर नेपाली भएर बाँच्न पाउने सौभाग्य आफूले नपाए पनि नेपालप्रति आफ्नो अटुट माया रहेको उनी बताउँछिन् । तर, भारतमा जन्मिएका कारण आफूले भोग्नु परेको तिरस्कारले चित्त दुख्ने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘भारतको स्वतन्त्रता दिवसको दिन सामाजिक सञ्जालमा केही पोस्ट गर्दा ‘यो धोतिनी हो त्यसैले इन्डियाको समर्थन गर्छ’ भन्दा साह्रै चित्त दुख्छ ।’

हिन्दी गीतमा टिकटक बनाउँदा समेत भारतीय भन्दै आफ्नो खेदो खनिने उनी गुनासो गर्छिन् । निरुता अगाडि भन्छिन्, ‘भारतमा बस्दा हामीलाई नेपाली भन्ने गर्छन् । नेपाल आए भारतीय भन्छन् । हामी के गर्ने ? हामी कसरी बाँचिरहेका छौं भन्ने कुरा हामीलाई मात्र थाहा छ । भारतीय नागरिक भएकाले भारतको विरुद्धमा बोल्न पनि सक्दैनौं । यो कुरा किन बुझ्न नसकेका होलान् र ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu