साम्राज्ञीलाई चलचित्रको अफर कम भएको छैन : नेहा



चर्चा र विवादमा छाइरहने अभिनेत्री साम्राज्ञी आरएल शाहले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ पछि ६ महिना कुनै चलचित्र साइन गरिनन् । जसले गर्दा उनीलाई चलचित्र अफर नभएको समेत चर्चा चल्यो । तर, लकडाउनयता उनले लगातार चलचित्र साइन गरिरहेकी छन् । प्रवेश पौडेल, रमेश एम.के पौडेल र मिलन चाम्सको गरी उनले ६ महिनामा तीन चलचित्र साइन गरेकी छन् ।

योसँगै उनको पाइपलाइनमा हेमराज विसीको चलचित्र ‘अशुभ विवाह’ पनि छ । ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को कमेडी चलचित्र ‘हुतुतु’ गर्न पनि उनी सकारात्मक छिन् । ६ महिनाको विश्रामपछि लकडाउनको समयमा लगातार चलचित्र साइन गर्नुलाई साम्राज्ञीले कामविहीन भएको भन्दै आफ्नो खेदो खन्नेलाई जवाफ फर्काएको कतिपयको विश्लेषण छ ।

तर, उनकी आमा नेहा आरएल शाह आलोचकलाई जवाफ दिन साम्राज्ञीले लगातार चलचित्र साइन नगरेको बताउँछिन् । उनले भनिन्, ‘साम्राज्ञीलाई चलचित्र अफर कम भएको छैन । लकडाउनको बेला राम्रो टिम र स्क्रिप्टबाट अफर आएकाले चलचित्र साइन गरेकी हुन् । अनि, साइन गरेका चलचित्र एकसाथ फ्लोरमा जाने पनि होइनन् । सबै चलचित्रको छायांकन सहमतिमा हुनेछ ।’

साम्राज्ञीले पहिलो प्राथमिकता भने ‘हुतुतु’ लाई दिएको नेहा बताउँछिन् । उनी भन्छिन्, ‘चलचित्रको टिमसँग तीन पटक छलफल भइसकेको छ । तर, अहिलेसम्म कागजी सम्झौता भएको छैन । साम्राज्ञी चलचित्र गर्न इच्छुक छिन् ।’ निर्माण टिमलाई भने साम्राज्ञीले लगातार चलचित्र साइन गरेका कारण ‘हुतुतु’ को वर्कसप र छायांकनमा पर्याप्त समय दिन नसक्ने हुन् कि भन्ने चिन्ता छ ।

स्थिति सामान्य भएपछि साम्राज्ञीले पहिला कुन चलचित्र गर्ने भन्ने तय नभएको नेहाको भनाई छ । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई उठाउन अहिले साम्राज्ञीले पहिलाको भन्दा कम पारिश्रमिकमा चलचित्र साइन गरेको पनि उनी बताउँछिन् । नेहाले छोरीको पारिश्रमिकदेखि चलचित्रको सेड्युल मिलाउनेसम्म आफैंले गर्छिन् । यसैले साम्राज्ञीलाई चलचित्र अफर गर्न पहिला उनलाई भेट्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu