‘ए मेरो हजुर ४’ मा दुर्गेश गायक र कलाकार



कोरोना भाइरसको महामारीका कारण छायांकन अवरुद्ध भएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ । आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् ।

गायक थापाको चलचित्रमा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, चलचित्रमा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार चलचित्रमा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।’

कोरोनाको महामारी अन्त्य भएपछि ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । यो चलचित्रलाई यही दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण चलचित्रको छायांकन समेत पूरा हुन सकेको छैन । अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गरेका कारण दर्शकहरु यो चलचित्रको व्यग्र प्रतिक्षामा छन् । सलोन बस्नेतको पनि अभिनय रहेको चलचित्रकी निर्देशक झरना थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu