नेपाली चलचित्रलाई अस्कारमा सहभागिताका लागि आवेदन खुल्ला



संसारकै प्रतिष्ठित अवार्ड मानिने एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ९३औं अस्कर अवार्डमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली चलचित्रकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई चलचित्र बुझाउन आग्रह गरेको छ ।

हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोना महामारीका कारण दुई महिना पछाडि धकेलिएको थियो । यस वर्ष अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा अस्कर अवार्ड सम्पन्न हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको नेपालको अस्कर कमिटीका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यसपटक महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका चलचित्रले पनि अस्कारमा सहभागिता जनाउन पाउने अध्यक्ष पौडेलले बताए । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ ।

हलमा प्रदर्शन नभइ सिधै स्ट्रिमिङ साइटमा आएका चलचित्रले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu