मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गरेको छ । सरकारले यस वर्षको बजेटमा मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न बोर्डले मौलिक कथा छान्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो । बोडले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि-२०७७’ मस्यौदा समेत तयार पारेको छ ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठित ११ सदस्य मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधि-२०७७’ तयार पारेको हो । समितिमा सह-संयोजक नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के। खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरिश शर्मालगायत रहेका छन् ।
‘स्टोरी बैंक’ स्थापनापछि चलचित्र निर्माणमा सरकारको तर्फबाट सहयोग रहने बोर्डको विश्वास छ । प्राप्त जानकारी अनुसार, ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथामध्येबाट छानिएका पाँच मौलिक कथामा चलचित्र बनाउनका लागि राज्यले विभिन्न सुविधा दिनेछ । त्यस्तै, मौलिक छनौटमा नपरेका कथामा कसैले लगानी गर्न चाहेमा राज्यले केही सुविधा उपलब्ध गराउने जानकारी प्राप्त छ ।