उत्तमले गर्ने भए ‘दर्पण छायाँ पछि’ को निर्देशन



नेपाली चलचित्रको इतिहासमा स्वर्ण लक्षरले लेखिएको चलचित्रको नाम हो- ‘दर्पण छायाँ’ । तुलसी घिमिरे निर्देशित यो चलचित्रमा निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको अभिनय थियो । चलचित्रमा उनीहरुले जीवन्त अभिनय गरेका थिए । सन् २००१ मा प्रदर्शन भएको यो चलचित्रको दुई दशकपछि पनि दर्शकलाई हरेक दृश्य याद छ । चलचित्रका गीत पनि अझै लोकप्रिय छन् ।

नाम नै ब्रान्ड बनेको यो चलचित्रको निर्देशक घिमिरेले चार वर्षअघि ‘नेम सिक्वेल’ निर्माण गरेका थिए । तर, चलचित्रले ‘दर्पण छायाँ’ को साखलाई जोगाउन सकेन । अब दुई दशकपछि निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीले मिलेर ‘दर्पण छायाँ’ को सिक्वेल निर्माण गर्दैछन् । कोरोना महामारीपछि छायांकन सुरु हुने चलचित्रका लागि अभिनेता प्रधानले स्क्रिप्ट लेखिरहेका छन् ।

‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो, त्यहीबाट सिक्वेल सुरु हुनेछ । चलचित्रको नाम ‘दर्पण छायाँ पछि’ राखिएको छ । यसअघि चलचित्रको निर्देशन तुलसी घिमिरेले गर्ने खबर बाहिरिएको थियो । तर, उनले ‘दर्पण छायाँ’ को सिक्वेल निर्देशन नगर्ने भएका छन् । अभिनेता उत्तम प्रधान आफैंले स्क्रिप्टसँगै चलचित्र निर्देशनको अभिभारा लिएका छन् । चलचित्रमा उनको अभिनय पनि रहनेछ ।

उनका अनुसार, चलचित्रको स्क्रिप्टमा निर्देशक घिमिरेले सघाएका छन् । उत्तमले फोन संवादमा भने- ‘चलचित्रको निर्देशन मैले गर्दैछु । कलाकारमा म, दीलिप र निरुता हुनेछौं । ‘दर्पण छायाँ’ जहाँ सकिएको थियो, त्यहीबाट २० वर्षपछिको कथालाई जोडिनेछ ।’ अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । उनी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताउँछन् ।

अभिनेत्री निरुता सिंह र अभिनेता दीलिप रायमाझी अभिनयमा सक्रिय रहे पनि उत्तमलाई दर्शकले पर्दामा हेर्न नपाएको वर्षौं भइसकेको छ । परिवारसहित दार्जिलिङमा बस्दै आएका उनी पछिल्लो पटक बलिउड अभिनेत्री प्रियंका चोपडाले बनाएको नेपाली चलचित्र ‘पाहुना’ मा देखिएका थिए । उनले एउटा राजनीतिक चलचित्र र केही डकुमेन्ट्रीको समेत निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu