कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को यही शुक्रवारबाट बाँकी छायांकन थाल्ने तयारी गरिएको थियो । तर, यो सम्भव हुन सकेन । निर्माता सुनिल कुमार थापाले सरकारले छायांकन अनुमति नदिँदा शुक्रवारबाट चलचित्रको छायांकन सुरु हुन नसकेको बताएका छन् ।
उनी भन्छन्, ‘चलचित्र विकास बोर्डबाट केही दिनमा छायांकन अनुमति पाउने जानकारी पाएपछि हामीले शुक्रवारबाट छायांकन थाल्ने तयारी गरेका थियौं । तर, सरकारले छायांकन अनुमति दिएको छैन । अहिले हामी सरकारको निर्माणको प्रतिक्षामा छौं ।’ सरकारले छायांकन अनुमति दिएको भोलीपल्टै चलचित्रको छायांकन थाल्ने उनी बताउँछन् ।

उनी आउँदो बैशाखभित्र चलचित्र प्रदर्शन गर्ने योजनामा पनि छन् । निर्माता थापाले अगाडि भने- ‘यही दशैंमा चलचित्र प्रदर्शन गर्न सकिन्छ भन्ने लागेको थियो । तर, कोरोनाका कारण सम्भव भएन । सरकारले सिनेमा हल खोल्न अनुमति दिएको अवस्थामा बैशाखभित्र चलचित्र प्रदर्शन गर्ने योजना छ । निर्माण भएको चलचित्र धेरै समय राख्नु राम्रो हुँदैन ।’
झरना थापा निर्देशकको रुपमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानासँगै सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रमा अनमोलले पालेको कुकुर ‘कोको’ को पनि अभिनय हेर्न पाइनेछ । केही दिन अगाडि अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापाको चलचित्रमा प्रवेश भएको थियो । चलचित्रमा उनको विशेष भूमिका रहने र एक गीतमा आवाज रहने बताइएको छ ।