तत्काल सिनेमा हल खोल्नु हुन्न : राजेश हमाल



चलचित्र ‘शकुन्तला’ पछि चलचित्र अभिनयमा सक्रिय नरहेका अभिनेता राजेश हमाल फुर्सदको समयमा म्यूजिक भिडियोमा अभिनय गरिरहेका हुन्छन् । गएको केही महिनामा मात्र आफूलाई १२ वटा म्यूजिक भिडियोबाट अफर आएको हमाल बताउँछन् । अहिले दर्शकले चलचित्र हेर्न नपाएका कारण आफूले म्यूजिक भिडियोमा काम गर्ने सोच बनाएको उनको भनाई छ ।

कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले तत्काल सिनेमा हल खोल्नु उचित नहुने पनि अभिनेता हमालले बताएका छन् । आइतवार एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्थिति सामान्य नहुँदासम्म सिनेमा हल खोल्नु हुन्न जस्तो लाग्छ । हामीले सबैभन्दा पहिला दर्शकको स्वास्थ्यलाई ध्यान दिनुपर्छ । परिस्थिति सहज भएपछि सतर्कतापूर्वक सिनेमा हल खोल्नुपर्छ, अहिले राम्रो हुन्न ।’

तत्काल सिनेमा हल खोलेको अवस्थामा भोलीका दिनमा आउने समस्याको बारेमा पनि गम्भीर भएर सोच्नुपर्ने उनको सुझाव छ । उनले भने- ‘कोभिड १९ का कारण अहिले हरेक क्षेत्रमा समस्या छ । फिल्म क्षेत्रमा पनि यसले ठूलो प्रभाव पारेको छ । तर, अहिले नै सिनेमा हल खोल्दा संक्रमण थप फैलिन सक्छ । सिनेमा हल भीडभाड हुने ठाउँ भएकाले संक्रमणको जोखिम उच्च रहन्छ ।’

राजेश हमालले कोरोना महामारीपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने पनि बताएका छन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । चलचित्रमा हमाल स्वयंको अभिनय रहनेछ । यो चलचित्रभन्दा अगाडि उनी केही म्यूजिक भिडियोमा काम गर्ने योजनामा छन् । उनले आइतवार ‘जुनमा हेरुँ तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियोको छायांकन सकाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu