अहिले हल खोलेर दर्शक आउँदैनन् : रमेश उप्रेती



नेपाल सरकारले सात महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र खोल्ने तयारी थालेपछि हल सञ्चालकको मुहारमा खुसी छाएको छ । यो खबरले छायांकन अनुमतिको प्रतिक्षामा रहेका निर्माताहरु पनि खुसी देखिएका छन् । तर, अभिनेता रमेश उप्रेती तत्काल सिनेमा हल खोल्नु भनेको दिवा सपना देख्नु रहेको बताउँछन् । यो अवस्थामा हल खोलेर दर्शक चलचित्र हेर्न नआउने उनको तर्क छ ।

सिनेमा हल खुलेको भरमा निर्माताले करोडौंमा बनाएको चलचित्र रिलिज नगर्ने बताउँदै उनले भने- ‘चलचित्र क्षेत्र चलायमान बनाउने हो भने सरकारबाट विशेष सहयोग हुनुपर्छ । हलवाला र वितरकले एमजी दिनुपर्छ । होइन भने करोडौंमा बनाएको चलचित्र हल खुल्न साथ निर्माताले रिलिज गर्छन् जस्तो मलाई लाग्दैन । यो अवस्थामा दर्शक हलमा आउँछन् भन्नेमा पनि म विश्वस्त छैन ।’

हल खोलेर मात्र समस्याको समाधान नहुने उनी बताउँछन् । यसका लागि चलचित्र विकास बोर्डले सम्बन्धित क्षेत्रमा पहल गरेर योजना बनाउनु पर्ने उनको सुझाव छ । विना योजना हल खोल्नु भनेको निर्माता डुबाउनु रहेको उनले बताए । ‘अहिले होटल खोल्दैमा पर्यटक आउँँदैन भने झैँ हलमा पनि दर्शक आउँँदैनन् । यसका लागि सबै पक्ष बसेर पूर्वधार तयार गर्नुपर्छ,’ उनले भने ।

अभिनेता रमेश अगाडि भन्छन्, ‘कोरोनाका कारण अहिले धेरैलाई गाँस, बाँस र कपासको समस्या भएको छ । यो अवस्थामा मनोरञ्जन पहिलो प्राथमिकतामा पर्दैन । पहिला आफ्ना आवश्यकता पूर्ति भएपछि दर्शकले मनोरञ्जन लिने हुन् । त्यसैले अहिले हल खोलेर चलचित्र हेर्न दर्शक आउँछन् भन्नु दिवा सपना झैँ हो ।’ हल खोल्नका लागि स्थिति सामान्य हुनुपर्ने उनको तर्क छ ।

अभिनेता उप्रेती पछिल्लो पटक चलचित्र ‘ऐश्वर्य’ मा देखिएका थिए । यसपछि भने उनलाई दर्शकले पर्दामा हेर्न पाएका छैनन् । लकडाउनभन्दा अगाडि उनी एक चलचित्रको तयारीमा थिए । कोरोनाका कारण दशैंभित्र चलचित्रको छायांकन पूरा गर्ने योजना अधुरै रहेको उनी बताउँछन् । अब कोरोना महामारी पूर्ण रुपमा अन्त्य भएपछि चलचित्र निर्माण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu