नेपाली चलचित्रका ‘ट्रेण्ड सेटर’ निर्देशक मानिने निश्चल बस्नेत चलचित्र ‘लुट २’ पछि अभिनयमा सक्रिय छन् । ‘प्रसाद, घामड शेरे’ चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा अवाज समेत भरेका छन् । अब भने उनी चलचित्र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्रको स्क्रिप्ट ‘फिरफिरे’ फेम्ड लेखक बुद्धि सागरले तयार पारेका छन् ।

चलचित्रको नाम ‘जिन्दाबाद’ राखिएको गोप्य स्रोतले दिएको जानकारी दिएको छ । निश्चलले यो नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेको बुझिएको छ । लभस्टोरी-कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा ‘लुट’ कै कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतको अभिनय रहने जानकारी प्राप्त छ । अभिनेत्रीको रुपमा भने स्वस्तिमा खड्का रहने चर्चा छ ।
कोरोना महामारी सामान्य भएपछि चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निश्चल छन् । उनको होम प्रोडक्सन कम्पनी ब्ल्याक हर्स पिक्चरको ब्यानरमा चलचित्र निर्माण हुनेछ । स्क्रिप्ट ‘लक’ गरेर अहिले उनी कलाकार छनौटमा लागेको स्रोतले जानकारी दिएको छ । लामो समयपछि एक्सन कटमा फर्किन लागेका निश्चल बस्नेतबाट दर्शकहरुले फरक स्वादको चलचित्रको आश गरेका छन् ।