नीर शाह : चलचित्र क्षेत्रका एक खम्बा



नेपाली चलचित्र क्षेत्रका धरोहर नीर शाह आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट विभिन्न व्यक्तिहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । ‘मसान’, ‘बसन्ती’, ‘बासुदेव’, ‘पच्चीस बसन्त’ जस्ता सम्झनलायक चलचित्रको निर्देशन गरिसकेका उनले पछिल्लो पटक चलचित्र ‘सेतो बाघ’ को निर्देशन गरेका थिए ।

हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनी विगत ५० वर्षदेखि अभिनयमा सक्रिय छन् । नेपाली चलचित्रको सुरुवाती कालखण्डदेखि नै अभिनयमा सक्रिय रहेका उनले कयैन् यादगार चलचित्रमा काम गरेका छन् । उनले दर्जनौं नाटकसँगै टेलिचलचित्रमा समेत काम गरेका छन् । दर्शकहरुले उनको अभिनयसँगै आवाजलाई निकै मन पराउने गरेका छन् ।

वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित चलचित्र ‘परिवर्तन’ बाट उनले चलचित्र अभिनय यात्रा सुरु गरेका थिए । यो चलचित्रभन्दा अगाडि उनले प्रताप सुब्बाको एक बंगाली डकुमेन्ट्रीमा काम गरेका थिए । ५ दशक लामो अभिनय करिअरमा उनले ‘कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, कान्छी, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी’ लगायत तीन सय बढी चलचित्रमा काम गरेका छन् ।

कलाकार शाहले धेरै चलचित्रको स्क्रिप्ट पनि लेखेका छन् । पहिलो चलचित्रमा ७ सय रुपैयाँ पारिश्रमिक पाएका उनी अहिले नेपाली चलचित्रका महंगा चरित्र अभिनेताका रूपमा परिचित छन् । कुशल गीतकार समेत रहेका उनी ‘पर्खिबसे आउला भनी’, ‘छोरी मलाई भागी भागी नसताऊ’ ‘गहिराइमा डुब्दै नडुब’, ‘प्यारी बसन्ती’, ‘को हो त्यो जसले मलाई’ जस्ता लोकप्रिय गीतका स्रष्टा हुन् ।

झण्डै १३ वर्षदेखि प्रेसरको औषधी सेवन गरिरहेका कलाकार नीर शाहलाई नेपाली चलचित्र क्षेत्रको भीष्म पितामह भन्ने गरिएको छ । नेपालमा टेलिभिजन स्थापित गर्नमा पनि उनको ठूलो योगदान छ । उनी नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष हुन् । अभिनयका अलावा लामो समयदेखि कन्सल्टेन्सी चलाउँदै आएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कयैन् सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu