हिन्दूहरुलाई बदनाम गरेको भन्दै राजेश हमालको पुत्ला दहन



अभिनेता राजेश हमालले सञ्चालकको भूमिका निर्वाह गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम विवादमा तानिएको छ । क्रिश्चियनको लगानीमा हिन्दूत्वमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमवार अभिनेता हमालको पुत्ला दहन गरेका छन् । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्दै आएको कार्यक्रम ‘जातका प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ । क्रिस्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दूहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गरेका हुन् ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले पछिल्लो घट्नाक्रमले राजेश हमाल नायक नभएर खलनायक भएको पुष्टि गरेको बताएका छन् । हमालले ‘जातका प्रश्न’ कार्यक्रम छाडेर हिन्दू समाजसँग माफी माग्नु पर्ने र ८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गराउनु पर्ने यादवको माग छ ।

हिन्दूहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातका प्रश्न’ निर्माण गरिएको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह नराखेको बताएको छ । राजेश हमालको फोटोलाई दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाएकोप्रति पनि फाउन्डेसनले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu