मिथिलाको ‘विश्वास’ देखि ‘आमा’ सम्मको यात्रा



अभिनयकै लागि चिनिने नाम हो, मिथिला शर्मा । करीब ३५ वर्षदेखि अभिनयमा नै सक्रिय रहेकी उनी शुक्रवारबाट ५७औं वर्षमा प्रवेश गरेकी छन् । २०२० साल असोज ३० गते काठमाडौंमा जन्मिएकी उनले वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र ‘विश्वास’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । उनी आफूले पाएको भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्ने गर्छिन् ।

डेढ सयभन्दा बढी चलचित्र र केही नाटकमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी मिथिला शर्मा पछिल्लो समय अभिनेता तथा अभिनेत्रीको आमाको भूमिकामा देखिँदै आएकी छन् । चलचित्रमा उनी भएपछि अरु कलाकार छायाँमा पर्ने चर्चा समेत हुने गरेको छ । उनी आफ्नो अभिनयले दर्शकलाई हलमा बाँधेर राख्न सिपालु छिन् । पछिल्लो पटक उनी चलचित्र ‘आमा’ मा देखिएकी थिइन् ।

स्थिति सामान्य हुन्थ्यो भने यतिबेला उनलाई देशभित्र हुने अवार्ड कार्यक्रममा चलचित्र ‘आमा’ बाट चरित्र अभिनेत्रीको रुपमा अवार्ड थाप्न भ्याइ नभ्याइ हुन्थ्यो । यो चलचित्रमा उनले जीवन्त अभिनय गरेकी थिइन् । उनको मनछुने अभिनयले चलचित्रलाई प्राण भरेको थियो । ‘आमा’ ले आफ्नो परिचय बदलेको बताउने मिथिला शर्मा यो चलचित्रलाई आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट मान्छिन् ।

स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘सुख-दुःख’ मा अभिनय गरेपछि मिथिला शर्माको करिअरले उचाइ दिएको थियो । त्यस्तै, चलचित्र ‘मुकुन्डो’ मा ‘गीता’ को भूमिकाले उनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती दिलाएको थियो । अभिनयसँगै नृत्यमा पनि अब्बल मानिने मिथिलाले ९ वर्षको उमेरमा गोपाल योन्जानको गीतमा स्वर्गीय राजा वीरेन्द्र शाहको अगाडि नृत्य प्रस्तुत गरेकी थिइन् ।

उनले ‘विश्वास, पच्चिस बसन्त, भुमरी, चेली बेटी, अधिकार, लहना, जे भयो राम्रो भो, मुग्लान, दुनियाँ, मिस्टर मंगले, आधा लभ, अझै पनि, मंगलम, कोहिनूर, उमा’ लगायतका चलचित्रमा सानदार अभिनय गरेकी छन् । पर्दामा प्रायः दुःखी महिलाको भूमिकामा देखिएकी उनले ५० वर्षको उमेरमा सन् २०१४ मा नेपालका पूर्व आईजीपी मोतीलाल बोहोरासँग लगनगाँठोे कसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu