‘ए मेरो हजुर ४’ को रोकिएको छायांकन सुरु



चलचित्र ‘आई एम ट्वान्टी वान’ सँगै शनिवारबाट अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को पनि छायांकन सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर चलचित्रको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्रको छायांकन सुरु गरेको उनले बताए ।

उनका अनुसार, २० जनाको टिमसहित शनिवारदेखि काठमाडौंमा चलचित्रको इनडोर छायांकन भइरहेको छ । ‘कलाकारदेखि प्राविधिकसम्मको कोरोना परीक्षण गराएर छायांकनमा निस्किएका हौं । सुटिङ सेटमा सामाजिक दुरी कायम गरिएको छ । सेटमा आउने कास्ट एन्ड क्रियूलाई सेनिटाइज गरेपछि मात्र प्रवेश गर्न दिएका छौं । सेटलाई सुरक्षित बनाएका हौं,’ निर्माता थापाले भने ।

दशैंमा केही दिन विश्राम लिएर तिहारसम्म चलचित्रको सम्पूर्ण छायांकन पूरा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि पोखरामा चलचित्रको ५० प्रतिशत छायांकन सकिएको थियो । अब चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंभित्रै हुने निर्माता थापाले बताए । उनी चलचित्र तयार भएको ६ महिनाभित्र हलमा प्रदर्शन गर्ने योजनामा छन् । अभिनेत्री झरना थापा चलचित्रकी निर्देशक हुन् ।

सञ्जय लामाले खिचिरहेको चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका छ । निषेधाज्ञामा निर्माण टिमले गायक दुर्गेश थापालाई पनि अनुबन्ध गरेको थियो । चलचित्रमा उनको अभिनयसँगै एक गीतमा आवाज रहनेछ । यो चलचित्र यही दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण यो चलचित्र यस वर्षको दशैंमा प्रदर्शन आउन सकेन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu