कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । उनकी आमाको सय वर्षको उमेरमा आइतवार निधन भएको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । शिवहरीले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै फेसबुकमार्फत् माफी मागेका छन् ।

उनले लेखेका छन्, ‘दुखद् खबर लेख्न वाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ मलाई थाहा छैन आमा । सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा बास होस् मेरी प्यारी आमा । आमा, फेरि पनि मलाई माफ गर्नुहोला ।’ शिवहरीकी आमाको सोमवार अन्त्येष्टि गरिएको छ ।
कलाकार पौड्यालले पहिलो पटक फिचर चलचित्र ‘लक्का जवान’ निर्देशन गरेका छन् । यो चलचित्र गएको चैतमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगन गरिएको छ । आफूले निर्देशन गरेको चलचित्र आमालाई हलमा नै लगेर देखाउने शिवहरीको ठूलो सपना थियो । तर, उनको त्यो सपना पूरा हुन सकेन ।