चलचित्रमा दशैँ



विजय रत्न तुलाधर। दसैं नेपालीहरुको महान् चाड हो । जमरा दसैंको विशेष फूल प्रसादी हो । जुनसुकै देशमा पनि आफ्नो धर्म, संस्कृति र विशेष पर्वलाई महत्वपूर्ण ठाउँ दिइएको हुन्छ । हलिउडका चलचित्रहरुमा क्रिशमश अनि बलिउडका चलचित्रहरुमा ईद, होली, दिपावली, रक्षा बन्धन जस्ता भारतका चाडपर्वहरुले विशेष स्थान पाएको हुन्छ तर नेपाली चलचित्रहरुका दसैंले त्यस्तो स्थान पाउन सकेको छैन । कलाकारको शिरमा जमराले ठाउँ लिन सकेको छैन । जबकि यहि दसैंलाई आफ्नो चलचित्र रिलिज गर्न घम्साघम्सी नै गर्छन् । तर, यसपटक भने कोरोना महामारीका बीच चलचित्र भवनहरु बन्द भएका कारण निर्माताहरुको घम्साघम्सी देख्न पाईएन ।

दशैंको छेको पारेर आफ्नो फिल्म रिलिज गर्न घम्साघम्सी गर्ने निर्माताहरुका फिल्महरुमा दशैंको दृश्य वा प्रसङ्ग समेटिएको उदाहरणहरु त्यति भेटिंदैन । किन ? चलचित्रमा दसैंबारे चर्चा गर्दा निर्माता तथा निर्देशक युवराज लामाले केही बर्ष अगाडि “दसैं” शिर्षकमा एउटा चलचित्र निर्माण गर्ने घोषणा गरेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ । तर घोषणा गरेको लामोसमय बितिसक्दा पनि त्यो चलचित्र बन्न सकेको छैन । किन ? यो प्रश्नको उत्तरमा दसैं सम्बन्धी दृश्य चित्रण गर्न जमराले ठूलो भूमिका खेल्छ र जमरा उमार्न आठ-नौ दिन लाग्ने भएकोले त्यसको तयारीमा हुने झण्झटको कारण पनि चलचित्रमा दसैंको दृश्य नराखिएको हुनसक्ने विचार पोख्ने युवराज लामाले आफुले बनाउने योजना बनाएको दसैं को चित्तबुझ्दो पटकथा तयार हुन नसकेपछि आफूले सो चलचित्र बनाउन नसकेको स्वीकारे ।

Dashian-film

चलचित्रहरुमा दसैंको प्रसङ्ग राख्दै नराखिने भने पक्कै होइन । विशेषगरी वैदेशिक रोजगार सम्बन्धी कथा बोकेका चलचित्रहरुमा दसैंको प्रसङ्गलाई सम्वेदनशील रुपमा प्रस्तुत गरिएको पाइन्छ । निर्देशक शम्भु प्रधानको “नेपाल प्यारो छ” नरेन्द्र थापाको “देशदेखि विदेश” किरण प्रधानको “कस्तुरी” र शिव रेग्मीको “मुग्लान” जस्ता चलचित्रहरुमा विदेशमा बसेका नेपालीहरुले दसैं मनाएको र दसैंको बेला नेपाल सम्झेका प्रसङ्गहरु समेटिएको छ । निर्देशक प्रमोद भण्डारीको “नतीजा” पनि यस्तै खालको एउटा फिल्म हो जसमा विदेशमा बस्दै आएका नेपालीहरुले नेपालका आफन्त र नेपालमा रहेकाहरुले विदेशका आफन्तलाई सम्झेर गाउने गीत राखिएको छ । “दशैं आयो दशैं आयो”बोलको यो गीतमा दशैंमा हुने विभिन्न गतिविधीलाई फिल्मको पर्दामा उतार्ने प्रयास गरेको कुरा निर्देशक भण्डारीले बताए । ठूलो पर्दाका चलचित्रहरुमा दसैंले त्यति ठूलो स्थान पाउन नसकेपनि टेलि चलचित्रहरुमा भने ठूलै महत्व दिएका उदाहरणहरु छन् ।

प्रसिद्ध कलाकर्मीद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले “दशैँ” शिर्षकको एउटा टेलिफिल्म मार्फत् दसैंको मर्म उजागर गरेका थिए भने सन्तोष पन्तले हिजो आजको कुरा नामक टेलिभिजन कार्यक्रममा दसैंसम्बन्धी रोचक र मर्मस्पर्शी प्रसङ्गहरु धेरैपटक नै प्रसारण गरेका थिए । लोकप्रिय टेलिभिजन सिरिज “तीतो सत्य” मा पनि दसैं बारेमा प्रसङ्गहरु उल्लेख गर्ने गरिन्थ्यो । केहि बर्ष पहिलेसम्म हिट रहेका “मेरी बास्सै”, “जिरे खुर्सानी” लगायतका टेलिभिजन सिरिजहरुमा रातो टीका र जमरा हेर्न नपाए पनि दसैं बारेमा विचारोत्तेजक प्रसङ्गहरु कुनै न कुनै रुपमा हेर्न पाइरहेको थियो । तर अहिले ति कार्यक्रमहरु बन्द छन् । तीनका बदलामा कुनै कार्यक्रमले स्थान जनाउन सकेनन् ।

Dashian-film1

चलचित्रहरुको कुरा गर्दा परिवारमा दसैंको बेला पारिवारीक सदस्यको विछोड वा अभाव हुँदाका संवेदनशील मर्मस्पर्सी दृश्यहरु यदाकदा हेर्न पाइने गर्दछ । यसपालि दसैंमा पनि छोरो घर आएन । वा यस्तै खालका सम्वाद सुन्न पाइन्छ । चलचित्रहरुमा निर्देशक श्याम राईको आँखा लोभी मन पापी चलचित्रमा विदेशमा काम गर्न गएका सन्तानहरु दसैं जस्तो महान् चाडमा पनि व्यस्तताको कारणले आफ्ना अभिभावकहरुको हातबाट टिका थाप्न नआउने प्रसङ्ग राखिएको छ भने “जीवन रेखा” मा अभिभावकसँग छुटिएर गएका छोरा दसैंमा घर नआएको तर घरमै सँगै बस्दै आएका छोराले अभिभावकको मन बहलाउन खोजेको दृश्य अत्यन्त हृदय विदारक दृश्यका रुपमा चर्चित भएको थियो । जीवन रेखामा श्रीकृष्ण श्रेष्ठले अभिभावकहरु नीर शाह र शकुन्तला शर्मासँग दसैंको टिका र आशिर्बाद थापेको दृश्य राखिएको छ ।

Dashian-film2

निर्देशक तुलसी घिमिरेको एउटा चलचित्र “लहना” मा भारतीय भुमिमा बस्दै आएका नेपालीहरुले मनाउँदै गरेको दसैंको दृश्य समेटिएको थियो । तुलसी घिमिरे यसलाई अभुतपूर्व संजोग मान्छन् । कालिंगपोङ्ग, दार्जिलिङतिर शुटिङ्ग भईरहेकै बेला दसैं पनि परेकोले संजोगवश “लहना” मा भारतीय भुमिमा बस्दै आएका नेपालीहरुले मनाउँदै गरेको दसैंको दृश्य समेट्न पाएको कुरा निर्देशक तुलसी घिमिरे बताउँछन् ।

यी चलचित्रहरु बाहेक अरु केहि चलचित्रहरुमा दसैंको बातावरण चित्रण गरिएको पनि पाईन्छ । जस्तो नारायण पुरीको “महादेवी” मा दुर्गा स्तोत्र “जयन्ती मंगलाकाली भद्रकाली कपालिनी” राखिएको छ । यही स्तोत्र निर्देशक नीर शाहको “बसन्ती” मा पनि छ । स्व. लक्ष्मीप्रसाद देवकोटाको अमर कृति “मुना मदन मा आधारित चलचित्रमा “ओखलमा चिउरा कुट्दा दसैंको बास आउँदो हो” भनि उल्लेख गरिएको छ भने “मुगलान” को एउटा गीतमा, “कोदो फुल्यो बारीमा…. कति राम्री देखिन्छौ जमरा र रातो टिकैमा” भनि उल्लेख गरिएको छ । निर्देशक अशोक शर्माको “अल्लारे” को एउटा गीत “रातो टिका निधारमा टलक्कै टल्कियो ” पनि अति नै लोकप्रिय भएको गीत हो । यसरी नेपाली चलचित्रमा दसैंलाई भिन्न भिन्न रुपमा प्रस्तुत गरिएको भेटिएतापनि दसैंलाई प्रत्यक्ष र सजिवरुपमा पर्दामा उतारिएका चलचित्रहरु भने त्यति हेर्न पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu