काठमाण्डौ। रिलीजको दश बर्षपछि ‘कसले चोर्यो मेरो मन-२’ नाम राखेर निर्माता छवि ओझाले चलचित्र बनाउन लागेका छन् । रेखा थापा र आर्यन सिग्देलको दब्दबा रहेको समयमा बनेको ‘कसले चोर्यो मेरो मन’को ‘नेम सिक्वेल’ बन्ने भएको हो । अब बन्ने चलचित्रमा कथा भने नयाँ हुनेछ ।
यो चलचित्र पनि ‘कसले चोर्यो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्दैछन् । विश्वस्त श्रोतका अनुसार यो चलचित्रमा रेखा र आर्यन दोहोरिने छैनन् । नयाँ कथामा चलचित्र बन्ने भएकोले नयाँ कलाकारहरु रहने बुझिएको छ ।

‘कसले चोर्यो मेरो मन’ दश बर्ष पहिले रेखा फिल्मसको ब्यानरमा बनेको थियो । ‘कसले चोर्यो मेरो मन-२’ भने निर्माता ओझाले नयाँ कम्पनी दर्ता गरेर बनाउन लागेको बुझिएको छ । त्यसो त रेखा थापाले तीन बर्ष ‘कसले चोर्यो मेरो मन फेरी’ नाममा चलचित्र बनाउने घोषणा गरेकी थिइन् तर, सो प्रोजेक्टलाई रोकेर उनले ‘रुद्रप्रिया’ बनाएकी थिइन् । रेखाले बनाउने भनेको ‘कसले चोर्यो मेरो मन फेरी’मा पनि निर्देशक सबिर नै थिए भने रेखा आँफैले अभिनय गर्ने भएकी थिइन् ।
छवि ओझा र रेखा थापा छुट्टिएसँगै रेखा फिल्मस् रेखासँग नै रहेको छ । रेखा, छवि र सबिरबीच फिल्म र नामको बिषयमा के सहमती भएको छ त्यो भने स्पष्ट भएको छैन ।




