गत वर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ पाइरेसीको मारमा परेको छ । दशैंको छेकोमा अभिनेत्री ऋचा शर्माले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा रिलिज भएको यो चलचित्र यहीबाट यूट्युबमा पाइरेसी भएको हुनसक्ने आशंका निर्माण टिमले गरेको छ । शनिवार कपिराइट अल सङलगायत केही यूट्युब च्यानलमा चलचित्र भेटिएको थियो ।
निर्माता रोहित अधिकारीले चलचित्र पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको बताए । चलचित्र अपलोड भएका यूट्युब च्यानल ब्लक गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । ऋचा शर्माले केही समय अगाडि १०-१० लाख एड्भान्स दिएर ‘छ माया छपक्कै र छक्का पञ्जा ३’ को एप राइट्स खरिद गरेकी थिइन् । ‘छ माया छपक्कै’ सँगै यूट्युबमा ‘छक्का पञ्जा ३’ पनि पाइरेसी भएको छ ।

‘छ माया छपक्कै’ को यूट्युब राइट्स केदार प्रसाद घिमिरेको आमा अग्नी कुमारीसँग छ । यूट्युबमा चलचित्र पाइरेसी हुँदा आमा अग्नी कुमारीलाई ठूलो घाटा हुने देखिन्छ । ओटीटी प्लेटफर्ममा रिलिज भएको चलचित्र मोबाइलमा रेकर्ड गर्न सकिने हुँदा एकपछि अर्को चलचित्र पाइरेसीको मारमा परेका छन् । कमजोर कानुनका कारण पाइरेसी गर्नेहरू फस्टाउँदै गएको चलचित्रकर्मीको गुनासो छ ।
दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । लामो समयदेखि दर्शकहरु यो चलचित्र यूट्युबमा हेर्न प्रतिक्षामा छन् । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको यो चलचित्रको सिक्वेल निर्माणको तयारी भइरहेको छ ।