दीपकराज गिरी र दीपाश्री निरौलाले टेलिभिजनको पर्दामा जमेका हास्य कलाकार केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेललाई लिएर पहिलो पटक चलचित्र ‘६ एकान ६’ निर्माण गरे । यो चलचित्रको सफलतापछि ‘वडा नम्बर ६’ बनाए । यसले पनि मुनाफा कमाएपछि ‘छक्का पञ्जा’ को जन्म भएको थियो । अहिले दीपक-दीपाको समुहलाई नेपाली चलचित्र क्षेत्रको शक्तिशाली टिम भन्ने गरिन्छ ।
तर, चलचित्र क्षेत्रमा दबदबा कायम गरेको ‘छक्का पञ्जा’ टिम फुट्दै गइरहेको छ । ‘६ एकान ६ र ‘वडा नम्बर ६’ पछि दीपक-दीपाको टिमबाट सिताराम कट्टेल र कुञ्जना घिमिरे अलग भए । अब जितु नेपाल पनि बाहिरिएको चर्चा चलेको छ । ‘छक्का पञ्जा’ टिमका भरपर्दा कलाकार मानिने जितुमाथि दीपकराज गिरी र दीपाश्री निरौलाले प्रतिसोध साँधेको कतिपयको टिप्पणी छ ।
‘छक्का पञ्जा’ टिममा विवाद उत्पन्न हुनुको प्रमुख कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्री बाहिरिनुलाई मानिएको छ । ‘महानायक’ विवादमा मुछिएपछि शोको निर्माण कम्पनी ‘कि इन्टरटेन्मेन्ट’ लाई प्रायोजक कम्पनीले दीपाश्रीलाई अध्यक्षबाट हटाउन दबाब दिएका थिए । उनलाई शोमा राख्न जितु नेपालले पनि अडान नराखेपछि दीपाश्रीलाई शोबाट हटाइएको बताइन्छ ।

तर, ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीलाई हटाउनुमा जितुको नै प्रमुख हात रहेको भन्ने ‘छक्का पञ्जा’ टिमलाई परेको छ । यसैको प्रतिसोध साँध्न दीपक-दीपाले ‘छक्का पञ्जा’ टिमबाट जितुलाई हटाउने निर्णय गरेको स्रोत बताउँछ । यद्यपि, यो टिमबाट जितु नेपाल अलग भएको आधिकारिक जानकारी दीपक-दीपाले दिएका छैनन् । तर, टिम परिवर्तन हुनसक्ने संकेत भने दिएका छन् ।
स्रोतका अनुसार, ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षबाट दीपाश्रीलाई हटाउने निर्णय भएदेखि जितु र दीपक-दीपाबीच भेटघाट र फोनवार्ता भएको छैन । यो कुरा जितु स्वयं स्वीकार गर्छन् । केही समयदेखि आफूहरुबीच कुराकानी नभएको जितुको स्वीकारोक्ति छ । दशैंअघि ‘छक्का पञ्जा ४ र छ माया छपक्कै २’ चलचित्रको विषयमा भएको छलफलमा समेत जितु नेपाल अनुपस्थिति थिए ।
‘मुन्द्रेको कमेडी क्लब’ पूर्ननिर्माण भए झैँ ‘छक्का पञ्जा’ टिम पनि पूर्ननिर्माण हुने दीपकराज गिरीले बताएका छन् । अब बन्ने एक/दुईवटा चलचित्रमा जितु नदेखिन सक्ने संकेत उनले गरेका छन् । कलाकार परिवर्तन नहुँदा चलचित्रको लुक एउटै भएकाले अब बन्ने चलचित्रमा कास्टिङमा हेरफेर हुनसक्ने उनको भनाई छ । तर, जितुसँग सम्बन्ध विग्रिएको कुरालाई उनी अफवाह बताउँछन् ।
‘छक्का पञ्जा’ टिममा शिवहरी पौडेल, निर्मल शर्मा र विल्सन विक्रम राईको प्रवेश भएको दीपकराजले जानकारी दिएका छन् । किरण केसी पनि यो टिमसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । जितु नेपाललाई हटाएर दीपक-दीपा ‘छक्का पञ्जा’ टिमलाई थप बलियो बनाउने कसरतमा देखिएका छन् । जितुको बर्हिगमन दीपक-दीपा समुहलाई फाइदा होला वा घाटा ? यो हेर्न भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।




