कोरोनाका लागि हरिवंश हड्डी, म कवाफ : मदनकृष्ण श्रेष्ठ



कला क्षेत्रका सदाबहार बादशाह मानिने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उदाहरणका रुपमा लिने गरिन्छ । साढे तीन दशकदेखि कलाकारिता यात्रामा काँधमा काँध मिलाएर हिँडेका उनीहरुले कयौं हास्यसिरियलसँगै नेपाली चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । उनीहरुबीच व्यावसायिक सम्बन्ध मात्र दिगो छैन, व्यक्तिगत सम्बन्ध पनि उतिक्कै मजबूत छ ।

कुनै सार्वजनिक कार्यक्रममा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई एकअर्का विना कमै देख्न पाइन्छ । पारिवारिक भेटघाटमा पनि उनीहरु छुट्दैनन् । असोजमा हरिवंश आचार्यलाई कोरोना पुष्टि भएपछि मदनकृष्ण श्रेष्ठ उच्च जोखिम थिए । हरिवंशलाई पनि आफ्नोभन्दा मदनकृष्णको चिन्ता थियो । किनकि, दुई दिनअघि उनीहरुले एकसाथ सुटिङ र एउटै गाडीमा यात्रा गरेका थिए ।

Haribansha Acharya, Madan Krishna Shrestha

तर, हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण पुष्टि भए पनि मदनकृष्णलाई कोरोनाको संक्रमण देखिएन । लामो समयदेखि पार्किन्सन, प्रेसर, प्रोस्टेटको औषधी सेवन गरिरहेका मदनकृष्णले कोरोनाको लागि हरिवंश हड्डी बराबर भए पनि आफू मिठो कवाफ बराबर रहेको बताएका छन् । मास्क प्रयोगले मात्र पनि धेरै हदसम्म कोरोनाको संक्रमणबाट बचाउने उनी बताउँछन् ।

मंगलवार फेसबुकमा हरिवंश आचार्यसँगको एक तस्विर पोस्ट गर्दै मदनकृष्णले लेखेका छन्, ‘कामका बेला हामीले स्यानिटाइजर दलेका थियौं, सोसल डिस्टेन्समा होस् पुर्‍याएकै थियौं । तर, एउटै गाडी चढ्दा भने डिस्टेन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि रिपोर्ट कसरी नेगेटिभ भयो होला भनेर सोच्दा गाडीमा चढेदेखि हामीले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।’

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गर्न सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘त्यसपछि लाग्यो मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍याउँदो रहेछ जस्तो लाग्यो । त्यसैले साबुन पानी, स्यानिटाइजर र सामाजिक दूरीका साथै मास्क लगउन विषेश ध्यान दिनुहोला है ।’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पछिल्लो पटक चलचित्र ‘दाल भात तरकारी’ निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu