दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री हेरफेर भएको छ । ‘लीला’ को भूमिकामा अनुबन्ध भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्र गर्न असमर्थ भएपछि उनको ठाउँमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले चलचित्र गर्न नसकेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।
![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2020/11/deepika.jpg?resize=720%2C527&ssl=1)
चलचित्रमा दीपिकाको ठाउँमा भित्रिएकी श्रद्धा क्षेत्री लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । यो उनको डेब्यू चलचित्र भने होइन । यसअघि उनले अभिनेता पल शाहसँग चलचित्र ‘हृदयभरी’ मा काम गरेकी छन् । यो फिल्म प्रदर्शनको पखाईमा छ । ‘कृष्ण लीला’ मा भने उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् । यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् ।
प्रेमकथामा आधारित हुने चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको छायाँकन मंसिर १५ गतेबाट सुरु हुनेछ । चलचित्रका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । अर्जुन पोखरेलको संगीत रहने चलचित्रलाई शिव ढकालले खिच्नेछन् ।