अभिनेता द्वय पल शाह र पुष्प खड्काले म्यूजिक भिडियोबाट करिअरको सुरुवात गरेका कारण उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिएको छ । केही समययता उनीहरुले एउटा म्यूजिक भिडियोमा काम गरेबापत बुझ्ने पारिश्रमिक लगभग बराबर जस्तै छ । उनीहरुले चलचित्रमा लिने पारिश्रमिकमा पनि ठूलो अन्तर छैन । म्यूजिक भिडियो र चलचित्र दुवैमा उनीहरुको राम्रो माग छ ।
लकडाउनको समयमा पल र पुष्पबीच कसले धेरै म्यूजिक भिडियो गर्ने र पारिश्रमिक धेरै बुझ्ने प्रतिस्पर्धा चलेको बताइन्छ । तर, पुष्प आफूहरुबीच प्रतिस्पर्धा नरहेको बताउँछन् । उनी भन्छन्, ‘पलसँग मेरो आत्मीय सम्बन्ध छ । हामीले एकसाथ केही म्यूजिक भिडियोमा काम पनि गरेका छौं । हामीहरुबीच भेट हुँदा एक प्रकारको प्लानिङ चाहिँ गर्छौं । तर, त्यस्तो अस्वस्थ प्रतिस्पर्धा छैन ।’

आफूहरु म्यूजिक भिडियोबाट आएका कारण प्रतिस्पर्धाको चर्चा चल्ने गरेको उनको बुझाई छ । चलचित्र क्षेत्रमा कतिपयले म्यूजिक भिडियोलाई होच्याउने गरेकोप्रति दुखेसो पोख्दै पुष्प भन्छन्, ‘मलाई पनि धेरैले म्यूजिक भिडियोबाट आएका कारण फिल्ममा गाह्रो छ भन्ने गर्थे । तर, मलाई के लाग्छ भने म्यूजिक भिडियो त्यस्तो प्लेटफर्म हो, जसले ठूलो प्लेटफर्मलाई निम्त्याउन सक्छ ।’
लकडाउनको समयमा २५ वटाभन्दा बढी म्यूजिक भिडियोमा काम गरेका पुष्प खड्का आउँदो मंसिर १५ गतेबाट चलचित्र ‘कृष्ण लीला’ को छायांकनमा व्यस्त हुँदैछन् । दीपक ओलीको निर्देशन गर्ने लागेको यो चलचित्रमा पुष्पले अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स गर्नेछन् । योसँगै उनको पाइपलाइनमा मुकुन्द भट्टको एक्सन चलचित्र पनि छ । यी दुवै चलचित्रप्रति उनले ठूलो आश गरेका छन् ।






