हरिवंश आचार्य ६३ वर्षमा, यस्तो छ उनको जीवनका उतार-चढाव



चर्चित हास्यकलाकार हरिवंश आचार्य बिहीवारबाट ६३ वर्षमा प्रवेश गरेका छन् । २०१४ साल कात्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मिएका हरिवंश, हरिवंश पूजापछि जन्मेका परिवारका एक मात्र छोरा हुन् । पाँचजना छोरी मात्र जन्मेपछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोराको चाहमा हरिवंशका आमाबुवाले हरिवंश पूजा लगाएका थिए ।

पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश राखिएको हो । बुवा ७३ वर्षको हुँदा हरिवंशको जन्म भएको थियो । तर, उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा निधन भयो । आमाबुवा नहुँदा जेठी दिदी बिन्दु आचार्यले अभिभावकको जिम्मेवारी पूरा गरेको हरिवंश बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन् ।

१७ वर्षको उमेरदेखि कलाकारिताको सुरुवात गरेका हरिवंशले रेडियो नेपालका हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलासीसँगको सहयोगले २०३१ सालमा कलाकारिताको सुरुवात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघरमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो । यो गाईजात्रामा काम गरेपछि उनको चर्चा परिचर्चा सुरु भयो ।

Haribansha Acharya

आमा र बुवाको निधनपछि हरिवंशको काँधमा पारिवारिक जिम्मेवारी थपिएको थियो । घरव्यवहारमा फसेपछि उनले सगोलको घर बेचे । एकजनाले उनलाई जग्गा/घर दिन्छु भनेर ५९ हजार लगेका थिए । तर, त्यसबापत उनले केही पाएनन् । पैसा फिर्ता लिन उनले एघार बर्ष मुद्दा लडे । हरिवंशको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो । त्यहाँ उनीहरूको जग्गा अहिले पनि छ ।

एसएलसी दिएपछि उनका एक साथीका बुवाले जागिर मिलाइदिए । उनी रत्नराज्य स्कुलमा लेखापाल भए । उनको महिनाको तलब १ सय ३५ रूपैयाँ थियो । रत्नराज्यमा काम गरेर उनी साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थे । उनलाई पनि नृत्य गर्ने इच्छा थियो । साह्रै दुब्लो भएका कारण उनले झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम पाएका थिए ।

अभिनयप्रति रुचि बढ्न थालेपछि उनले नाटककार जितेन्द्र महत ‘अभिलाषी’ लाई भेटेर नाटकमा खेलाउन आग्रह गरे । त्यसपछि उनले नाटक खेल्न थाले । त्यहाँ उनले महिनाको १ सय ७५ रूपैयाँ तलब पाउँथे । नाचघरमा राजा-रानी नाटक हेर्न आउँथे । ‘अमरसिंह’ नाटकमा उनको गोली लागेको अभिनयले रानी ऐश्वर्य खुब हाँसेकी थिइन् । यसपछि उनको तलब बढेको थियो ।

हरिवंशले करिअरको पूर्वाद्धमा विक्रम संवत २०४० मा सञ्चारकर्मी मीरा आचार्यसँग लगनगाँठो कसे । उनीहरुको कोखबाट दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन् । सन् २०११ मा ह्रृदयघातबाट मीराको मृत्यु भयो । त्यसले हरिवंशलाई निकै विचलित बनायो । उनी डिप्रेसनग्रस्त भए । त्यही ताका उनमा आत्माहत्या गर्नेसम्म सोच आउने गरेको उनले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu