कोरोना भाइरसका कारण दर्शकले सिनेमा हलमा चलचित्र हेर्न नपाएको लामो समय भए पनि यूट्युबमा भने हलमा प्रदर्शन भइसकेका चलचित्रहरु सार्वजनिक भइरहेका छन् । लकडाउनमा ‘पोइ पर्यो काले, ए मेरो हजुर ३, साइँली’ लगायतका चलचित्र यूट्युबमा सार्वजनिक भए । बिहीवार चलचित्र ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ । यो चलचित्रका निर्देशक दिनेश राउत हुन् ।
जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा वाचन गरेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । विपिन र नम्रता श्रीमान-श्रीमतीको भूमिकामा रहेको चलचित्रमा निश्चल नेगेटिभ रोलमा छन् । व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको चलचित्रलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । प्रायःले विपिन कार्कीको अभिनय मन पराएका छन् ।

यूट्युब रिलिजको २० घण्टामा साढे ५ लाख भ्यूजसहित ट्रेन्डिङको ८औं नम्बरमा रहेको चलचित्रलाई २३ हजार लाइक्स मिलेको छ । २० घण्टामा चलचित्रलाई प्राप्त १७ सय कमेन्टमा अधिकांशले कलाकारको अभिनय, गीतसंगीत, कथावस्तु र निर्देशकिय पक्षको तारिफ गरेका छन् । चलचित्रले नेपाली समाजको तीतो यथार्थलाई पेश गरेको भन्दै दर्शकले प्रशंसाको पुल बाँधेका छन् ।
‘प्रसाद’ को सफलतापछि अहिले यसको निर्माण टिम सिक्वेलरप्रिक्वेलको तयारीमा छ । स्थिति सामान्य भएपछि छायांकन सुरु हुने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । सुभाष थापाले निर्माण गर्ने चलचित्रमा विपिन, नम्रता र निश्चलको नै अभिनय रहने छ । सुशील पौडेलले चलचित्रको स्क्रिप्टमा लेखिरहेका छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्यपछिको कथामा चलचित्र बन्नेछ ।
भिडियो :-