अभिनेता आर्यन सिग्देलको प्रमुख भूमिकामा चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर चलचित्रको शनिवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । २०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको आउँदो माघ पहिलो साताबाट छायांकन सुरु हुनेछ ।
आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजालले जानकारी दिए । चलचित्रमा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने चलचित्रको निर्मातामा राज कुमार भट्ट छन् ।

केदार भुषालको पटकथा तथा संवाद रहेको चलचित्रलाई रवि नाइडुले खिच्नेछन् । उनले थुप्रै दक्षिण भारतीय चलचित्र र हिन्दी चलचित्रको छायांकन गरिसकेका छन् । उनी हिन्दी सिरियल ‘नागिन’ का पनि छायाँकार हुन् । भारतमा बस्ने भएकाले नाइडु र निर्देशक झा कार्यक्रममा उपस्थिति हुन सकेनन् ।
आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा दर्शकले आफूलाई भिन्न रुपमा देख्न पाउने बताए । यो चलचित्र गर्न आफूलाई स्क्रिप्टले आकर्षित गरेको उनको भनाई छ । अर्का अभिनेता सलोन बस्नेतले फेरि आर्यन सिग्देलसँग काम गर्ने अवसर जुटेकोमा खुसी व्यक्त गरे । चलचित्रले उमेर अन्तरको कथा वाचन गर्ने कार्यकारी निर्माता रिजालले जानकारी दिए ।