नायक भुवन केसी अभिनीत चलचित्र ‘नेपाली बाबु’ मा बाल कलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका नायक सलोन बस्नेत पुराना निर्देशक शोभित बस्नेतका छोरा हुन् । बाल कलाकारका रूपमा चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका सलोन ‘हामी तीन भाइ’ पछि भने बालकलाकारको रुपमा देखिएका थिएनन् । यसपछि आठ वर्ष अभिनयबाट टाढिएका सलोनले चलचित्र ‘होस्टल’ बाट अभिनयमा कमब्याक गरे ।
‘होस्टल’ मा सलोनले अनमोल केसीको साथीको भूमिका निर्वाह गरेका थिए । ‘होस्टेल’ को व्यवसायिक सफलतापछि उनले ‘एउटा साथी, आभाष, आधा पेज, लब सब’ मा लिड नायकको रुपमा काम गरे । तर, नायक बनेर अभिनय गरेका यी कुनै चलचित्र चलेनन् । लिड हिरो भएर अभिनय गरेका चलचित्र सफल नभएपछि अहिले उनले सहायक भूमिकामा नै जोड दिइरहेका छन् ।

कमेडी टाइमिङमा उम्दा मानिने सलोन दशैंदेखि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । ‘ए मेरो हजुर’ सिरिज उनी विना अपुरो मान्ने गरिन्छ । यसैले निर्देशक तथा अभिनेत्री झरना थापाले यो चलचित्रको सिरिजमा उनलाई छुटाएकी छैनन् । लकडाउनदेखि घरभित्रै सीमित भएका उनी माघबाट चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त हुने तयारीमा छन् । यसपछि उनले चलचित्र ‘हुतुतु’ लाई समय दिने बताइएको छ ।
स्थिति सामान्य भएपछि उनी आफैं पनि चलचित्र निर्माण गर्दैछन् । उनी र आमेश भण्डारीको मुख्य भूमिका रहने चलचित्रको नाम ‘रुम नम्बर १०८’ राखिएको छ । निर्माताको पीडा महशुस गर्न भए पनि एकपटक अभिनयमा सक्रिय कलाकार निर्माता बन्नुपर्छ भन्ने गरिन्छ । सलोन भने आफूले यसअघि नै निर्माताको पीडा झेलिसकेको बताउँछन् । २०५७ सालदेखि सलोन सलिना फिल्मस्बाट चलचित्र निर्माण भइरहेका कारण निर्माताको पीडा बुझेको उनको भनाई छ ।




