बि.सं. २०७३ को साउन र भदौमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा चलचित्र निर्माण हुने भएको छ । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको नाटकको लेखन तथा निर्देशन सुलक्षण भारती गरेका हुन् । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागेको चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन् ।

केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहनेछन् । चलचित्रका अन्य पात्रहरुका लागि आगामी साता अडिसन खुल्ला गरिने निर्देशक आचार्यले जानकारी दिएका छन् । उनले भने, ‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रि-प्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थाल्नेछौं ।’

‘बोक्सीको घर’ लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रुपमा विशाल भण्डारी रहेका छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र चर्चित टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो । बोक्सी हाम्रो समाजमा छ वा छैन भन्ने चलचित्रले देखाउनेछ ।