कोरोना भाइरसका कारण आधा दर्जन बढी चलचित्रको छायांकन प्रभावित भएको छ । जसमध्ये एक हो, ‘परदेशी २’ । लकडाउनभन्दा अगाडि यो चलचित्रको छायांकन भइरहेको थियो । सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि रोकिएको ‘परदेशी २’ को छायांकन आठ महिनापछि सुरु भएको छ । बिहीवारबाट पाल्पाको विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलचित्रको छायांकन थालिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए । बिहीवार र शुक्रवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । दुई दिनको छायांकन सकेर उनी राजधानी फर्किएका छन् । शनिवारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको दृश्य खिचिएको छ ।

अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका रहेको यो चलचित्रको मंसिर १७ गतेसम्म पाल्पाको आसपास छायांकन हुनेछ । चलचित्रको केही प्रतिशत छायांकन भने विदेशी भूमिमा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि चलचित्रको ७० प्रतिशत छायांकन सकिएको थियो । चलचित्रले उठान गरेको विषयवस्तुले दर्शकको मन छुने विश्वास निर्देशक रायमाझीको छ ।
चलचित्रमा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । यो चलचित्रबाट लोकगायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यसकारण पनि चलचित्रलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । ‘परदेशी २’ सन् २०१५ को सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल हो । रमेश विजीले लेखेको कथामा तयार भइरहेको चलचित्रको निर्मातामा निर्देशक रायमाझी र राजेश वंशल छन् ।




