कोरोना भाइरसको संक्रमणका कारण आठ महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र खुल्ला गर्न चलचित्रकर्मीहरुले सरकारसँँग आग्रह गरिरहेको अवस्थामा अभिनेता राजेश हमालले अत्याधिक भीडभाड हुने क्षेत्र भएकाले जबरजस्ती चलचित्र सम्बन्धि गतिविधि खुल्ला गर्दा संक्रमण फैलिन सक्ने भएकाले स्थिति सामान्य भएपछि केही खुकुलो गर्दै लैजानु पर्ने मत राखेका छन् ।
‘सिनेमा हल, चलचित्र निर्माण र प्रदर्शन खोल्नु चाहिँ पर्छ । तर, जबरजस्ती गरेर पनि हुँदैन । अहिले हामीलाई स्थिति सहज लागे पनि परिस्थिति त नाजुक नै छ । त्यसकारण हामीले सम्यमता अपनाउनु पर्छ,’ हमाल भन्छन्, ‘जबरजस्ती सिनेमा हल खोलियो र भोली संक्रमण फैलियो भने त्यो प्रतिउत्पादक हुन्छ । सहज भएको खण्डमा खोल्नु चाहिँ पर्छ । तर, हामी अत्यन्त सचेत हुनुपर्छ ।’

लकडाउनको समयमा आधा दर्जन म्यूजिक भिडियोमा काम गरेका अभिनेता हमाल म्यूजिक भिडियो आफ्नो विधा नभएको बताउँछन् । ‘म म्यूजिक भिडियो नियमित गर्दिनँ । यो मेरो विधा पनि होइन । मुख्यतः म चलचित्र कलाकार नै हुँ । मेरो बढ्ता ध्यान त्यतै जान्छ । कुनै प्रोजेक्ट सुरु भयो भने म त्यतै लाग्छु । कहिले काहिँ म्यूजिक भिडियो गर्न रमाइलो चाहिँ लाग्छ,’ उनले भने ।
अभिनेता हमालले आफ्ना प्रशंसकलाई भेट्न शैली फरक रहेको पनि बताएका छन् । कुनै ठाउँमा हात हल्लाएर फ्यानसँग साक्षात्कार गर्नुभन्दा भेटेरै अन्तरक्रिया गर्न मनपर्ने उनको भनाई छ । फ्यानसँँग आफ्नो फ्यान र कलाकारको नाता भन्दा पनि पारिवारिक किसिमको सम्बन्ध रहेको उनले बताए । राजेश हमालले गएको तीन वर्षदेखि नयाँ चलचित्रमा काम गरेका छन् ।