नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तृप्ति नाडकरले ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेकी छन् । गुजराती र मराठी चलचित्रमा पनि अभिनय गरेकी उनी विवाहपछि भने सक्रिय अभिनय जीवनबाट टाढिएकी छन् । उनको अब नेपाली चलचित्रमा फर्किने सम्भावना न्यून छ । तर, उनका छोरा धिरज टोटलानीले नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन् ।
‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले नयाँ चलचित्रमा धिरजलाई हिरो बनाउन लागेका हुन् । लकडाउनभन्दा अगाडि नै निर्देशक पौडेल चलचित्रको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि चलचित्र फ्लोरमा निस्कन सकेको छैन । चलचित्रमा धिरजसँगै अभिनेत्री अदिती बुढाथोकी र गायक नितेशजंग कुँवरको पनि अभिनय रहनेछ ।

बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रेपरेस’ कलेजबाट अभिनयको कोर्ष गरेका धिरजले थुप्रै लघु चलचित्र तथा विज्ञापनमा काम गरेका छन् । चकलेटी लुक्सका धिरजलाई चलचित्र अफर गर्न निर्देशक पौडेल मुम्बई नै पुगेका थिए । चलचित्रको स्क्रिप्ट मन परेपछि उनी काम गर्नका लागि तयार भएको जानकारी प्राप्त छ । उनी चलचित्रको छायांकनका लागि चाँडै नेपाल आउने तयारीमा छन् ।
निर्माण टिमले भने तृप्ति नाडकरका छोराले चलचित्र गर्न लागेको विषयमा कुनै जानकारी दिएको छैन । स्रोतका अनुसार, निर्माण टिम चलचित्रको घोषणा कार्यक्रममा धिरजको परिचय गराउने तयारीमा छ । यो मौकामा तृप्ति पनि नेपाल आउने बुझिएको छ । चलचित्र गर्ने पक्का भएसँगै धिरजले आफ्नो आधिकारिक इन्स्टाग्राममा अभिनेत्री अदिती बुढाथोकीलाई फलो गरेका छन् ।