अब चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : रविन्द्र खड्का



कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ ।

सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ ।

लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थालेको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताएका छन् । लकडाउनको सुरुवातमा नृत्य कलाकार र अग्रज कलाकार मारमा परेको बताउँदै उनले अहिले सबै समस्यामा रहेको बताए । कलाकार संघले समस्यामा रहेका कलाकारलाई सहयोग पनि गरिरहेको उनी बताउँछन् ।

हालसालै चलचित्र विकास बोर्डमार्फत् ९३ जना कलाकारलाई सहयोग गरेको जानकारी दिँदै उनले देश तथा विदेशमा विभिन्न व्यक्तिसँँग सहयोग मागेर पनि कलाकारलाई सहयोग गरिरहेको बताए । संघमा आएर सहयोग माग्नेमा अग्रज कलाकार बढी रहेको उनको भनाई छ । खड्काका अनुसार, कति कलाकारलाई प्रत्येक महिना पेन्सन जसरी सहयोग पनि उपलब्ध गराइएको छ ।

चलचित्र क्षेत्रमाथिको प्रतिबन्ध नहट्दा प्राविधिकदेखि कलाकार सबै समस्यामा परेका कारण अब चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने उनको माग छ । उनी प्रश्न गर्दै भन्छन्, ‘डिस्को, रेस्टुरेन्ट, यातायात खोल्दा कोरोनाको डर भएन । सिनेमा हल, चलचित्र निर्माण र प्रदर्शन खोल्दा चाहिँ कोरोना सर्ने हो र ?’ उनले अब सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu