२ वर्ष अगाडि सिनेमा हलमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रवार दिउँसो ओएसआर यूट्युब च्यानलबाट सार्वजनिक भएको चलचित्रलाई केही घण्टामा नै उल्लेख्य भ्यूज मिलेको छ भने दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय मन पराएका छन् । चलचित्रमा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् ।

यो चलचित्र अहिले युट्युबको टेन्ड्रिङ्गमा समेत आइसकेको छ । चलचित्र ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । यो चलचित्रबाट उपासना र प्रियंकाले डेब्यू गरेका थिए ।
यो चलचित्रले बक्सअफिसमा औसत व्यापार गरेको थियो । समीक्षक र दर्शकले पनि चलचित्र खासै रुचाएका थिएनन् । यूट्युबमा भने दर्शकहरुले चलचित्रको प्रशंसा गरेका छन् । भुवन केसीले निर्माण गरेको यो चलचित्र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सिनेमा हलमा पुगेर हेरेका थिए । चलचित्रमा समावेश दुई गीत ‘रहर छ सँगै र कर्ली कर्ली कपाल’ अहिले पनि चर्चामा छ ।
भिडियो :-




