श्वेता लेख्छिन्, ‘मेरो अतितलाई स्विकार गर्ने साथी पाएकी छु’



अभिनेत्री श्वेता खड्का मंसिर २२ गते बैबाहिक जीवनामा बाँधिँदैछिन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्ने निर्णय लिएकी उनले विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह विहान ८ बजेदेखि सुरु हुँदैछ ।

बैबाहिक जीवनमा बाँधिन लागेको अघिल्लो दिन (आइतवार) श्वेताले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूले दोस्रो जीवनको सुरुवात गर्न लागेको जानकारी गराएकी छन् । उनले जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुःख-दुःख र हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैँ समयको दुश्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।’

एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँड्दा आफू धेरै पटक लडेको उनले बताएकी छन् । श्वेताले अगाडि लेखेकी छन्, ‘अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनैपिच्छे करिब हप्ता दिनको लागिविरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।’

मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिँड्नुभन्दा कठिन हुने उनले स्टाटसमा उल्लेख गरेकी छन् । आफ्नो एकल जीवन निहालिरहेका साथीहरुले जीवन साथी खोज्नका लागि सुझाउँदा आफूले पुरुष प्रधान समाजले दोश्रो जीवनलाई स्विकार गर्ला र ? भनेर बारम्बार प्रश्न गर्ने गरेको उनले बताएकी छन् ।

उनले लेखेकी छन्, ‘आज मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्विकार गरी मसँगै सुःख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतितलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन ।’

जीवनको नयाँ अध्याय सुरु गर्न लाग्दा पनि आफ्नो मनमा एउटा प्रश्न उब्जिएको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतिहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu