हलिउड/बलिउड जस्ता ठूला चलचित्र उद्योगमा चर्चित कलाकारहरुले म्यानेजर राख्नु नौलो कुरा होइन । आफ्नो कामलाई सहज बनाउन उनीहरुले लाखौं/करोडौं तिरेर म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्मातारनिर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् ।
तर, नेपाली कलाकारहरु कमैले मात्र म्यानेजर राखेका छन् । प्रायः लाई चलचित्रको विषयमा कुराकानी गर्नेदेखि पारिश्रमिकसम्म आफैं मिलाउनु पर्ने बाध्यता छ । आम्दानी सीमित हुने भएकाले नेपाली कलाकारहरु म्यानेजर राख्ने आँट गर्दैनन् । पछिल्लो समय भने केही चल्तीका अभिनेता तथा अभिनेत्रीहरुले म्यानेजर नियुक्त गरेका छन् । अनमोल केसी, नम्रता श्रेष्ठ यसका उदाहरण हुन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले गर्दै आएकी अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छन् । उनले २ महिना अगाडि एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् । अहिले आँचललाई अफर हुने चलचित्रदेखि म्यूजिक भिडियोका मेकरसँग कुराकानी गर्न उनले म्यानेजरलाई पठाउने गरेको बुझिएको छ ।
गत वर्ष विवाह बन्धनमा बाँधिएकी आँचल लकडाउनयता म्यूजिक भिडियोमा व्यस्त छिन् । उनी आफैं पनि चलचित्र निर्माण गर्दैछिन्, जसको निर्देशन मिलन चाम्सले गर्दैछन् । निर्देशक चाम्सको नयाँ चलचित्रमा काम गर्ने तयारीमा रहेको आँचलले विवाह गर्नुभन्दा अगाडि चलचित्र ‘झिँँगेदाउ’ को छायांकन पूरा गरेकी थिइन् । उनको पछिल्लो रिलिज चलचित्र ‘दाल भात तरकारी’ हो ।




