अहिलेका चल्तीका अभिनेतामध्ये एक पुष्प खड्काले लकडाउनअघि चलचित्र ‘चालबाल’ को छायांकन सकाएका थिए । तिहारपछि ‘कृष्ण लीला’ को छायांकन गरिरहेका उनी यसपछि अभिनेत्री साम्राज्ञी आरएल शाहसँग चलचित्र ‘रेड वाइन’ मा काम गर्दैछन् । उनको पाइपलाइनमा ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको चलचित्र पनि छ । यी तिनै चलचित्र उनले तीन महिनाको अवधिमा साइन गरेका हुन् ।
लगातार तीन चलचित्र साइन गरेपछि उनी फिल्म गर्न हतारिएको टिप्पणी भइरहेको छ । तर, पुष्प तीनवटै चलचित्रमा आफ्नो भूमिका फरक रहेका कारण साइन गरेको बताउँछन् । ‘चलचित्र थोरै गरुँ तर राम्रो गरुँ भन्ने सोचाइबाट म सधैं निर्देशित छु । तर, यसपटक के भइदियो भने प्रोजेक्टहरु फरक फरक आइदिए । जनरा र मेरो भूमिकाको हिसाबले तीनै चलचित्र फरक छन्,’ उनले भने ।

उनी अगाडि भन्छन्, ‘कृष्ण लीला’ मा कृष्णको चरित्र म आफैं टिमसँग बसेर सरसल्लाहमा तयार पारेकाले यो छुट्टै छ । मलाई एक्सन फिल्म गर्न पहिल्यैदेखि मन थियो । स्क्रिप्ट पनि राम्रो लागेपछि मुकुन्द दाईको चलचित्र सम्झौता गरेँ । ‘रेड वाइन’ चाहिँ परिस्थिति नै त्यस्तै बन्यो । यद्यपि, स्क्रिप्ट चित्त बुझेरै साइन गरेको हुँ ।’ आफूले संयमित भएरै चलचित्र साइन गरेको उनले बताए ।
तीन चलचित्र लगातार साइन गरे पनि प्रदर्शन एकसाथ नहुने उनको दाबी छ । तिनै चलचित्र केही महिनाको अन्तरमा प्रदर्शन हुने उनले बताए । ‘मुकुन्द दाईको चलचित्र ६ महिनापछि सुरु हुन्छ । यसका लागि तयारी पनि गर्नुपर्ने छ । ‘रेड वाइन’ भने ‘कृष्ण लीला’ पछि गर्दैछु । तिनै चलचित्रको रिलिजमा ग्याप हुन्छ,’ उनले भने । ‘रेड वाइन’ को नेपाल र अमेरिकामा छायांकन हुनेछ ।