‘कहानी तिम्रो मेरो’ पोस्टरमा केकी र निराजनको कमेडी अवतार



‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनको दुई वर्षपछि विशाल भण्डारी निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कोरोनाको महामारी सामान्य भएपछि छायांकन सुरु हुने चलचित्रको पोस्टरमा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक-कमेडी अवतारमा देख्न सकिन्छ ।

चलचित्रको थिम बुझाउन खोजिएको पोस्टरमा एक व्यक्तिले केकीको पाखुरा समातेका छन् भने निराजनको पनि एक महिलाले पाखुरा समातेकी छन् । उनीहरु भने एकअर्कालाई चुम्बन गर्न तम्सिएको देख्न सकिन्छ । केही म्यूजिक भिडियोमा काम गरिसकेका केकी र निराजनले चलचित्रमा भने पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । यसकारण दुवै चलचित्रलाई लिएर उत्साहित छन् ।

केकी अधिकारी प्रस्तुतकर्ता रहने चलचित्रको निर्मातामा रुही सिंह भण्डारी र सह-निर्मातामा राजकुमार घिमिरे छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ । हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताइएको छ ।

विशाल भण्डारी अहिले चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनको तयारीमा छन् । यो सकिएसँगै उनले ‘कहानी तिम्रो मेरो’ को छायांकन सुरु गर्नेछन् । २०७८ सालको दशैंलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । विशाल र केकीको यसअघि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा सहकार्य भएको थियो । केकी चाँडै आफ्नै लगानीमा ‘बोक्सीको घर’ बनाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu