बलिउडमा प्रवेश गर्न सहज छैन : जेनिशा केसी



नायक विराज भट्टको समय राम्रो चलेको बखत उनको स्वीकृतिमा नायिका जेनिशा केसीले धेरै चलचित्रमा काम गर्ने मौका पाइन् । एक समय उनीहरु अफेयरको हल्ला समेत चलेको थियो । नचलोस् पनि कसरी, विराजका प्रायः चलचित्रमा जेनिशा लिड रोलमा हुन्थिन् । ‘निगरानी, भागी भागी नजाउ, दोस्ती, तिमी विनाको जीवन’ लगायतका चलचित्रमा उनीहरुले सँगै काम गरेका छन् ।

विराजले भोजपुरी चलचित्र गर्न थालेपछि जेनिशाले केही चलचित्रमा काम गरिन् । तर, कुनैले उनको करिअरलाई बचाउन मद्दत गरेनन् । यसपछि बलिउड प्रवेशका लागि मुम्बई हानिएकी उनी अहिले नेपालमा छिन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूले बालाजी फिल्मस्बाट निर्देशनमा डिप्लोमा गरेको बताएकी छन् । एक वर्षभित्र चलचित्र अभिनयमा पनि फर्किने उनको भनाई छ ।

बलिउडमा जान आफूले गरेको संघर्ष स्मरण गर्दै उनले भनेकी छन्, ‘मिथुन चक्रवर्तीले बोलाएर म मुम्बई गएको थिएँ । उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभयो । तर, बलिउडमा प्रवेश गर्न सहज छैन । जो कोहीले सक्दैन । महिलालाई झन् गाह्रो छ । मैले साढे २ वर्ष मुम्बईमा विताएँ । यसपछि लाग्यो कि विजनेशमा पनि हात हाल्नु पर्छ । अहिले दुबईमा विजनेश सुरु गरेको छु ।’

चलचित्र निर्माण गर्ने सोचमा समेत रहेकी जेनिशा आफूलाई विराज भट्टले चलचित्र ‘साङ्लो’ बाट अफर गरेको पनि बताइन् । तर, विजनेशका कारण चलचित्र गर्न नसकेको उनको भनाई छ । उनले विराजसँग आफ्नो सुमधुर सम्बन्ध रहेको पनि बताएकी छन् । मुम्बई बस्दा भोजपुरी चलचित्र ‘काशी अमरनाथ’ को एक गीतमा ठुम्का लगाएकी जेनिशा पछिल्लो पटक चलचित्र ‘एक पल’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu