कोरोनाको जोखिमका कारण सरकारले चलचित्र निर्माण, प्रदर्शन र वितरण खुल्ला गरेको छैन । ९ महिनादेखि ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन दशैंदेखि निर्माता-निर्देशकले सरकारको निर्णय अवज्ञा गर्दै चलचित्रको छायांकन गरिरहेका छन् । सरकारले चलचित्र छायांकनमा अवरोध नगरे पनि निर्मातालाई चलचित्र छायांकनका लागि स्थानीय निकायको स्वीकृति लिनुपर्ने अवस्था छ ।

अब सरकारले आउँदो पत्रकार सम्मेलनमा चलचित्र छायांकन खुल्ला भएको घोषणा गर्ने भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारीले उपप्रधान मन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेल र सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङसँगको भेटपछि यसबारेमा जानकारी दिएका हुन् ।
दुई मन्त्रीसँगको भेटका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सिनेमा घर भने सरोकारवाला संघ-संस्थासँग छलफल गरेर खोल्ने जानकारी प्राप्त भएको बताएका छन् । १० महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गर्ने पनि उपप्रधान र सञ्चार मन्त्रीले आश्वासन दिएको उनले उल्लेख गरेका छन् । उक्त भेटमा अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए ।