सिनेमा हल खोल्न सरकार सकारात्मक छ : दयाराम दाहाल



नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले १० महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकार सकारात्मक रहेको बताएका छन् । अबको एक हप्ताभित्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्न सक्ने उनको विश्वास छ । चलचित्र विकास बोर्डको आग्रहमा सूचना तथा सूचना मन्त्रालयले सिनेमा हल खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।

मंगलवार चलचित्र ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोस्टर र शिर्ष गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने- ‘जेठ २७ गते म चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा आएपछि असार १० गते सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई यथाशिघ्र चलचित्र क्षेत्र खोइयोस् भनेर पत्र पठाएको थिएँ । त्यसपछि विभिन्न चरणमा चलचित्र क्षेत्र खोल्न ढिला नगरौं भनेर मन्त्रालयलाई पत्र लेखेको थिएँ ।’

सिनेमा हल खुलेपछि अपनाउनु पर्ने मापदण्ड समेत चलचित्र विकास बोर्डले तयार गरेर सिसिएमसीलाई बुझाएको उनले बताए । सिसिएमसी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलगायत आवश्यक ठाउँमा चलचित्र विकास बोर्डले बुझाएको मोडालिटी स्वीकृत भइसकेको उनको भनाई छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलचित्र सम्बन्धि गतिविधि सुचारु गर्न उनको आग्रह छ ।

सरकारले चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति दिएपछि चलचित्र विकास बोर्डले गर्न सक्ने सहयोग सुरु हुने उनले बताए । ‘चलचित्र निर्माण गर्नेलाई बिमाको व्यवस्था, चलचित्र प्रदर्शन गर्नेलाई प्रचार-प्रसारका सामाग्री छपाईमा सहयोग, टेलिभिजन विज्ञापनमा विशेष छुट, सिनेमा घरलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा चाहिने सामाग्रीमा बोर्डले सक्ने सहयोग गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu