‘भाग् सानी भाग्, महशुस, लज्जा, मंगलम, मारुनी’ जस्ता चलचित्रका निर्देशक नवल नेपाल वेब सिरिज निर्देशनतर्फ लागेका छन् । लकडाउनअघि उनी नयाँ चलचित्रको तयारीमा थिए । तर, कोरोनाका कारण फिल्म क्षेत्र बन्द भएपछि उनले चलचित्रको काम रोके । लकडाउनको समयमा वेब सिरिजको स्क्रिप्ट तयार पारेका उनले दशैंअघि वेब सिरिज ‘दिल चुप छ’ को निर्देशन गरेका छन् ।

१६ भागको सिरिजको ७ भाग छायांकन सकिएको छ भने बाँकी ९ भागको छायांकन केही दिनमा सुरु हुने उनले बताए । यो सिरिजको छायांकनको काम सकिएपछि उनी चलचित्रको तयारीमा जुट्नेछन् । उनले आफ्नो लाइपलाइनमा दुई चलचित्र रहेको बताउँदै भने- ‘परिस्थिति असामान्य बनेका कारण चलचित्रमा आँट नगरेको हुँ । स्थिति सामान्य भएपछि चलचित्रको काम सुरु हुन्छ ।’
उनी चलचित्र र सिरिज आफ्नो लागि फरक नभएको बताउँछन् । चलचित्र, सिरिज वा टेलिसिरियललाई आफूले एउटै रुपमा हेर्ने गरेको उनले बताए । ‘यी सबै हाम्रा लागि चलचित्र नै हुँ । मात्र के फरक छ भने चलचित्रमा २ घण्टाको अवधिमा हामी बाँधिएका हुन्छौं । सिरिजमा अलिकति खुकुलो हुन्छ । सिरिजमा जुन खुकुलोपना हुन्छ त्यसलाई मैले फाइदाको रुपमा हेरेको छु,’ उनले भने ।
कोरोनाका कारण चलचित्र निर्माण र सिनेमा हल बन्द भएको अवस्थामा एउटा निर्देशकले सिरिज घर-घरमा पुर्याउनुलाई उनी सकारात्मक रुपमा लिन्छन् । पारिवारिक प्रेमकथामा आधारित ‘दिल चुप छ’ मा महेश खड्का, रिस्ता अधिकारी, सरोज खनाल, सूर्यमाला खनाल लगायतको अभिनय छ । निर्देशक नेपालकै कथा रहेको यो सिरिजलाई बुढा सुब्बाले निर्माण गरेको हो ।
‘दिल चुप छ’ टिजर :-