जिल्ला प्रशासन कार्यालयमा के भने हल सञ्चालकले ?



कोरोना भाइरसका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । तर, सरकारले भने सिनेमा हल खोल्न अनुमति दिएको छैन । सिनेमा हल खोल्ने विषयमा सरकारले चासो नदिँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको उनीहरुको भनाई छ ।

शुक्रवारबाट देशभरका सिनेमा हल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हल सञ्चालकहरुसँग छलफल गरेको छ । हल खोल्ने विषयमा मन्त्रीपरिषद्मा प्रस्ताव पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई डाकेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘अहिलेसम्म मन्त्रीपरिषद्मा हल खोल्ने प्रस्ताव नै पुगेको रहनेछ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले शुक्रवार मन्त्रीपरिषद्को बैठकमा सिनेमा हल खोल्ने प्रस्ताव लैजाने उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयसँगको छलफलमा सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हामीले बाध्य भएर हल खोलेका हौं भनेर जानकारी गराएका छौं । सरकारले कानुनी रुपमा खोलिदिए राम्रो, नभए पनि हामी सिनेमा हल खोल्छौं भनेर भनेका छौं,’ उनले भने ।

उनी शुक्रवार बस्ने मन्त्रीपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिनेमा विश्वस्त छन् । यस विषयमा कुनै निर्णय नभए पनि सिनेमा हल खुल्ने उनले बताए । नयाँ चलचित्र प्रदर्शन नभएका कारण शुक्रवार सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नभएको बताउँदै निर्देशक समेत रहेका शर्माले भने, ‘नयाँ चलचित्र प्रदर्शन गर्नका लागि माहोल बनाउन सिनेमा हल खोलेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu