तत्काल नयाँ चलचित्र प्रदर्शन गर्ने जोखिम निर्माताले उठाउँदैनन् : दीपकराज गिरी



९ महिनादेखि बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । क्रिसमसको विदालाई लक्षित गर्दै सिनेमा हल सञ्चालनमा आए पनि दर्शकको उपस्थिति उत्साहजनक छैन । शुक्रवार केही हलमा एक जना दर्शकको पनि उपस्थिति थिएन । पुरानै चलचित्र प्रदर्शन गरिएका कारण पनि सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नभएको हल व्यावसायीहरुको भनाई छ ।

शुक्रवार नेपाल चलचित्र संघको निर्णयमा ऐक्यवद्धता जनाउँदै अभिनेता भुवन केसी, कलाकार तथा निर्माता दीपकराज गिरी, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री ऋचा शर्मा, निर्देशक दीपेन्द्र के. खनालसँगै विभिन्न फिल्म सम्बद्ध संघ-संस्थाका व्यक्तिहरुले काठमाडौं सुनधारास्थित सिभिल मलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्दै ९ महिनापछि सिनेमा हल खुलेकोमा खुसी व्यक्त गरेका छन् ।

हल सञ्चालकहरुले सरकारलाई सिनेमा हल खोल्न दबाब दिइरहँदा कलाकार दीपकराज गिरी यसको विपक्षमा थिए । तत्काल हल खोल्नु भनेको जोखिम निम्त्याउनु रहेको उनको तर्क थियो । तर, धेरै चलचित्रकर्मीले हल खोल्नुपर्छ भनेपछि आफ्नो विचार अल्पमतमा परेको उनी बताउँछन् । सडकमा देखिएको भीडभन्दा तुलनात्मक रुपमा सिनेमा हल सुरक्षित रहेको उनको भनाई छ ।

उनी भन्छन्, ‘सडकमा हजारौं मानिस छन्, विना मास्क र विना सामाजिक दूरी । राजनीति त्यस्तै गर्मिएको छ । रात्रीकालिन जीवन पनि एकदमै एक्टिभ छ । अहिले डिस्कोहरुमा युवा युवतीहरु प्रेमपूर्वक नाचिरहेका छन्, त्यहाँ पनि सामाजिक दूरी देखिँदैन । हलमा त कमसेकम सेनिटाइजर, स्प्रे, मास्कको व्यवस्था गरिएको छ । यसकारण तुलनात्मक रुपमा सिनेमा हल सुरक्षित पाएँ ।’

नयाँ चलचित्र प्रदर्शन नभएसम्म हलमा दर्शकको चाप नदेखिने उनको तर्क छ । तर, तत्काल नयाँ चलचित्र प्रदर्शन गर्ने जोखिम उठाउन निर्माताले नसक्ने उनी बताउँछन् । केही समय पुरानै चलचित्र चलाउनुको विकल्प नभएको उनले बताए । ‘यसलाई रिहर्सलको रुपमा लियौं । तत्काल निर्मातालाई नयाँ चलचित्र देऊ भन्न सक्ने अवस्था छैन । केही समय यसरी नै चल्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu