प्रदीपको हातमा तीन चलचित्र, छायांकन कुन अगाडि ?



चकलेटी अभिनेता प्रदीप खड्का लकडाउनभन्दा अगाडि चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शनको पखाईमा थिए । चलचित्रको प्रदर्शन मिति गत वर्षको चैत अन्तिमलाई घोषणा गरिएको थियो । यसका लागि उनी प्रचार-प्रसारमा दौडिन तयारी अवस्थामा थिए । तर, सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देश लकडाउन गरेपछि चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि रोकियो ।

‘प्रेमगीत ३’ प्रदर्शन लगत्तै उनी निर्देशक हेमराज विसीको अनटाइटल प्रोजेक्टको छायांकन थाल्ने तयारीमा थिए । कोरोनाका कारण हेमराजले तत्काल चलचित्रको छायांकन नगर्ने भएपछि प्रदीपले निर्देशक दिनेश राउतसँग चलचित्र ‘प्रकाश’ मा सहकार्य गरे । यो चलचित्रभन्दा अगाडि नै उनी ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको कमेडी चलचित्र ‘हुतुतु’ मा अनुबन्ध भइसकेका थिए ।

उनको पाइपलाइनमा रहेका तीन चलचित्रमध्ये पहिला कुन चलचित्र फ्लोरमा जान्छ भन्ने चासो धेरैलाई छ । बिहीवार ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गर्दै उनले पहिला दिनेश राउतले निर्देशन गर्ने चलचित्र फ्लोरमा जाने जानकारी दिए । यसपछि हेमराज विसीको चलचित्र सकेर ‘हुतुतु’ को छायांकन सुरु गर्ने उनले बताए । उनी तीनै चलचित्रलाई लिएर उत्साहित देखिएका छन् ।

चलचित्र ‘प्रकाश’ मा उनले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् । चलचित्रका लागि अहिले अन्य कलाकारको खोजी भइरहेको छ । त्यस्तै, हेमराजको चलचित्रमा प्रदीपले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गर्दैछन् । चलचित्र ‘हुतुतु’ मा भने उनले अहिले सर्वाधिक चर्चामा रहेको गीत ‘मैसाब’ मा अभिनय गरेकी मोडल छुकिला शेर्पासँग रोमान्स गर्न लागेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu