युवाहरुलाई आत्मज्ञान जगाउने अभियानमा निखिल



चलचित्र ‘पिँजडा’ मा सात तलाबाट हाम्फालेर करिअर सुरु गरेका अभिनेता निखिल उप्रेती कुनै समय दैनिक तीन ‘सिफ्ट’ मा सुटिङ गर्थे । तैपनि अफर आएजति चलचित्र खेल्न भ्याउँदैनथे । दुई सयभन्दा बढी चलचित्रमा काम गरेका निखिललाई पछिल्लो समय अन्तर्वार्ता तथा कार्यक्रमहरुमा जीवन र जगतबारे गहन ढंगले ब्याख्या र विश्लेषण गरेको देख्न पाइन्छ ।

उनले हरेक विषयमा तर्कसहित आफ्ना गहकिला विचार राख्ने गरेका छन् । उनमा आएको यसप्रकारको बदलावले धेरैलाई आश्चर्यमा पारेको छ । कतिपयले उनलाई ‘दार्शनिक अभिनेता’ को समेत संज्ञा दिएका छन् । निखिल भने आफूमा पहिल्यैदेखि आध्यात्मिक चेत रहेको बताउँछन् । चलचित्रमा भ्याइनभ्याइ हुँदा पनि उनले दर्शन, धर्म, समाज र राजनीतिका पुस्तकहरु धेरै पढ्थे ।

यसले उनको बौद्धिकतालाई निखार्न मद्दत गर्‍यो । अहिले उनी आफूले स्वअध्ययन र चिन्तनबाट सिकेका कुरा अरुलाई बाँड्ने अभियानमा छन् । यही उद्येश्यसहित उनले एक वर्ष अगाडि समबोधी फाउन्डेसन स्थापना गरेका थिए । कोरोनाका कारण समबोधी अभियान सुरु गर्न नसकेका उनले आइतवार बुटवलबाट ‘समबोधी आरम्भ’ गरेका छन् । भैरहवामा पनि यो कार्यक्रम सम्पन्न भइसकेको छ ।

समबोधी अभियानमार्फत विशेषगरि युवाहरुमा आत्मज्ञान जगाउनु रहेको निखिलको भनाई छ । यो अभियानले युवाहरुलाई आफैंलाई चिन्न सघाउनुका साथै कुनै पनि चिजमा वस्तुगत विश्लेषण गर्न क्षमतावान बनाउने उनी बताउँछन् । उनले आफूसँग बृद्धबृद्धहरुका लागि पनि बेग्लै प्याकेज रहेको बताएका छन् । उनको यो अभियानमा श्रीमती सञ्चिता लुईंटेलले साथ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu