पल र मबीच टकराव छैन : पुष्प खड्का



अभिनेता द्वय पल शाह र पुष्प खड्काले लगभग एक समयमा करिअरको सुरुवात गरेका हुन् । पाँच सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका उनीहरुले नेपाली चलचित्रमा पनि आफ्नो बलियो उपस्थिति जनाएका छन् । पलले चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए भने पुष्प पहिलो चलचित्र ‘अझै पनि’ मा सहायक भूमिकामा थिए ।

पल र पुष्प संघर्षका दिनदेखिका साथी भएका कारण उनीहरुबीच निकै राम्रो सम्बन्ध छ । तर, चलचित्र क्षेत्रमा उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ । यद्यपि, उनीहरु यो कुरा स्वीकार गर्दैनन् । आफूहरुबीच कुनै प्रकारको प्रतिस्पर्धा नभएको उनीहरुको भनाई छ । पलले छाडेको चलचित्र ‘तिम्रो मेरो साथ’ पुष्पले साइन गरेपछि भने उनीहरुबीच अघोषित टकराव सुरु भएको चर्चा छ ।

तर, यो कुरालाई दुवैले अफवाह बताएका छन् । चलचित्र ‘मनसँग मन’ को एक गीतको छायांकनको क्रममा पलले आफूहरु मिल्ने साथी रहेको र सधैं हुने बताए । पुष्पले पनि उनको कुरामा सहमति जनाउँदै भने- ‘हामी म्यूजिक भिडियो ब्याकग्राउन्डबाट आएका हौं । हामीबीच पहिल्यैदेखि ट्यूनिङ राम्रो थियो । कारणवश् पलले गर्न नसकेको चलचित्र मैले गरेँ । तर, त्यस्तो टकराव छैन ।’

पलले कथावस्तु चित्त नबुझेपछि ‘तिम्रो मेरो साथ’ बाट हात झिकेको चर्चा छ । यद्यपि, यसबारेमा उनले कुनै जानकारी दिएका छैनन् । रमेश एमके पौडेलले निर्देशन गर्ने यो चलचित्रको नाम पहिला ‘रेड वाइन’ राखिएको थियो । पलले चलचित्र छाडेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पसँग सम्झौता गरेको हो । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह पनि मुख्य भूमिकामा रहनेछिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu