कोरोना कहरमा चलचित्र रिलिज गर्न किन तयार भए शिव श्रेष्ठ ?



पुष १० गतेबाट देशभरका सिनेमा हल खुलेका छन् । तर, सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउँदा पनि हलमा दर्शकको खडेरी छ । हल सञ्चालकहरु एकजना दर्शकलाई पनि चलचित्र देखाउन बाध्य छन् । नयाँ चलचित्र प्रदर्शन नभएसम्म सिनेमा हलमा दर्शकको चहलपहल बढ्ने देखिन्न । तर, निर्माताहरु तत्काल नयाँ चलचित्र प्रदर्शन गर्न तयार छैनन् ।

ठूला भनिएका चलचित्रका निर्माताहरुले यो समयमा फिल्म प्रदर्शन गर्ने आँट नगर्दा एक्सन स्टार शिव श्रेष्ठले भने आफू निर्मित तथा अभिनीत चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शन गर्दैछन् । कोरोनाका कारण धरासायी बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन लाखौंको लगानीमा बनेको चलचित्र प्रदर्शन गर्ने उनको हिम्मतलाई चलचित्रकर्मीहरुले प्रशंसा गरेका छन् ।

कोभिडको समयमा चलचित्र क्षेत्रलाई सहयोग गर्ने भावनाले चलचित्र प्रदर्शन गर्न लागेको अभिनेता श्रेष्ठले बताएका छन् । ‘यो समयमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । म कलाकार भएका कारण चलचित्र क्षेत्रप्रति आफ्नो कर्तव्य सम्झिएर दर्शकलाई इन्टरटेन्मेन्टको भ्याक्सिनको रुपमा चलचित्र लिएर आउँदैछौं । दर्शकको साथ पाउनेछौं भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले भने ।

४० वर्षदेखि दर्शकले गरेको विश्वासका कारण आफूले चलचित्र रिलिज गर्न लागेको उनी बताउँछन् । ‘कतिले चलचित्र बन्दैन पनि भनेका थिए । तर, दर्शकको विश्वासका कारण आज चलचित्र तयार भएको छ,’ उनले थपे- ‘चलचित्र कमजोर भएर यो समयमा प्रदर्शन गर्न लागेको होला भनेर पनि धेरैले सोच्लान् । तर, त्यसो होइन । कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई उठाउन हाम्रो यो प्रयास हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu