चलचित्र निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको ४२ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालमा पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजरको रुपमा कार्यरत थिए । उनले आफ्नो एउटा आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’ पनि सञ्चालन गर्दै आएका थिए ।

पुष पहिलो साता उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । दुई हप्ता अस्पतालको आइसोलेसनमा बसेपछि कोरोना जितेका उनी यसपछि निमोनियाबाट ग्रसित भएका थिए । लामो समयदेखि मेडिसिटीको भेन्टिलेटरमा उनी उपचाररत थिए । उनका श्रीमती र एक छोरा छन् ।
ताप्लेजुङमा जन्मिएका भट्टराईले ‘हिजो आजका कुरा’, ‘होकी क्या हो’ लगायतका टेलिसिरियलमा लामो समय काम गरेका थिए । उनलेले ‘अज्ञाप्य प्रेम, आवारा’ लगायतका केही चलचित्रमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरेका छन् । उनी अभिनीत अन्तिम चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा छ । उनले आफ्नै लगानीमा तीन वर्ष अगाडि चलचित्र ‘भूईंमान्छे’ को समेत निर्माण गरेका थिए ।