अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने लभस्टोरी चलचित्र ‘डिसेम्बर फल्स’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । नेप आर्ट यूट्युब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले निर्माण नहुँदै महंगो मुल्यमा चलचित्रको अष्ट्रेलिया राइट्ससँगै यूट्युब अधिकार खरिद गरेको हो । शनिवार दुई पक्षबीच कागजी सम्झौता भएको छ ।
उपासना माइग्रेसन कर्नरकी ब्राण्ड एम्बसेडर पनि हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा विभिन्न चलचित्रहरुको प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । दर्शकमाझ परिचित कलाकारहरुको अभिनय रहने भएका कारण चलचित्रको राइट्स खरिद गरेको माइग्रेशन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।

चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने चलचित्रको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथारसंवाद रहेको चलचित्रमा महेश आर गुप्ताको छायांकन रहनेछ । चलचित्रले नायक र नायिकाबीचको उमेर अन्तरको कथा भन्नेछ ।
प्रबिन झाले निर्देशन गर्ने चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । विपिका खनालको कथा रहेको चलचित्रमा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । काठमाडौं र पोखरामा छायांकन हुने चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । अर्को वर्षको साउन १ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।