कोभिड १९ का कारण ९ महिना बन्द भएका सिनेमा हल गएको पुष १० गते सञ्चालनमा आएका छन् । तर, सिनेमा हलमा दर्शक उपस्थिति सुखद छैन । निर्माताहरु नयाँ चलचित्र प्रदर्शन गर्न तयार नभएपछि ‘आमा र सेन्टी भाइरस’ लाई रि-रिलिज गर्दै सिनेमा हल खोलिएको थियो । तर, पुरानो चलचित्र हेर्न दर्शकले महंगो टिकट काटेर सिनेमा हलसम्म जाने जाँगर चलाएनन् ।
हलमा दर्शक तान्न नयाँ चलचित्र नै चाहिने देखिएपछि अभिनेता शिव श्रेष्ठले आफू निर्मित तथा अभिनीत चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज गर्ने घोषणा गरे । नाम चलेका कलाकारहरुको अभिनय रहेका कारण चलचित्रले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो । तर, कमजोर कथावस्तु र प्रस्तृतिका कारण चलचित्रले प्रदर्शनको पहिलो दिनबाटै दर्शकको खडेरी भोग्यो ।

सिनेमा हल खुलेपछि नयाँ चलचित्र नहुँदा दुई हप्ता पुरानै चलचित्र ‘आमा र सेन्टी भाइरस’ चलाएको नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शिव श्रेष्ठको चलचित्र भने रिलिजको ११ दिनमै हटाएको छ । आइतवारसम्म प्रदर्शन भएको चलचित्र सोमवारबाट हटाइएको हो । अहिले क्यूएफएक्स चेनमा ‘मास्टर, मोनस्टर हन्टर र द इनभिजिबल म्यान’ मात्र प्रदर्शनरत छन् ।
चलचित्र हेर्ने दर्शक नभएपछि क्यूएफएक्सले ‘एउटा यस्तो प्रेम कहानी’ को शो हटाएको बुझिएको छ । सुनधारामा रहेको सिडिसी सिनेमाज्ले पनि यो चलचित्रको शो हटाएको छ । विग मुभिज, वान सिनेमाज्, विएसआर मुभिज, एफक्यूब लगायतका मल्टीप्लेक्स हलले भने चलचित्रलाई दोस्रो हप्तामा एक-एक सोज बाँडेका छन् । सिंगल थिएटरमा पनि चलचित्रको अवस्था दयनीय छ ।




